कास्कीका सबै पालिका र वडामा तालमेल गर्ने पाँच दलको निर्णय

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशको राजधानी पोखरा रहेको जिल्ला कास्कीमा सत्ता गठबन्धनमा रहेका दलबहरु बीच आसन्न स्थानीय तहको निर्वाचनमा सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको छ ।

सोमबार कास्की कांग्रेसको कार्यालयमा बसेको सत्ता गठबन्धनमा रहेका पाँच दलको बैठकले कास्कीका पाँच वटै स्थानीय तह र ७२ वटै वडामा चुनावी तालमेल गर्ने सहमति जुटेको बैठकमा सहभागी कांग्रेस कास्कीका सदस्य गंगाधर पराजुलीले जानकारी दिए । ‘कास्कीका सबै स्थानीय तह र तिनका वडाहरुमा दलबहरु बीच तालमेल गर्ने सहमति भएको छ । कहाँ कुन दलको उम्मेद्वार उठ्ने भन्ने विषयमा स्थानीय बस्तुस्थिति अगाडि बढ्ने सहमति छ । त्यो बसेरै टुंगो लगाउने हो’ उनले भने ।

यसै गरि गठबन्धनमा रहेका दलहरुबिच एकता सम्मान र हार्दिकताको भावना वृद्धि गरि आसन्न स्थानीय निर्वाचनमा सहकार्य र अपनत्वको भावना सहित अगाडी बढ्ने निर्णय गरियो । कास्कीमा गठबन्धनमा रहेका दलका प्रमुख र थप एक जना रहने गरि १० सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको उनले बताए ।

बैठकमा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल एवं सदस्यहरु गंगाधर पराजुली र बाबुराम गिरी , माओवादी केन्द्रका अध्यक्ष बखानसिंह गुरुङ र विश्व प्रकाश लामिछाने, नेकपा एकीकृत समाजवादीको तर्फबाट अध्यक्ष धनराज आचार्य सहित होम नेपाली र झपिन्द्र रेग्मी, राजमोको तर्फबाट अध्यक्ष रविमोहन ढकाल, संघीय समाजवादीको तर्फबाट अध्यक्ष गिरी प्रसाद गुरुङ र नारायण भण्डारी सहभागी थिए ।

  • २१ चैत्र २०७८, सोमबार १८:१२ प्रकाशित