राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्म परिवर्तनको डढेलो फैलिएको बताएका छन् ।
थापाले यो डढेलोले मुलुकमा धार्मिक द्धन्द्ध निम्तिन सक्ने भन्दै सचेत गराएका छन् । यस्तै अध्यक्ष थापाले विगतमा ठुलो पार्टी बन्ने चाहनामा परि गलत प्रवृत्तिसंग सम्झौता गर्दा बाटो बिराएको स्विकारेका छन् ।
आज राप्रपा नेपाल रामेछाप जिल्ला समितीद्वारा सदरमुकाम मन्थलीमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले विगतमा जनमुखी हुन नसकेको, संगठनमुखी नभएको बताए।
उनले सत्ता केन्द्रित फोहरी खेलमा अलमलिदा पार्टी महत्त्वहिन र भुमिका बिहिन भएकोले बिगतका त्रुटि र कमजोरी सच्याउदै आगामी दिनमा गल्ती नगर्ने बाचा सहित राप्रपा नेपाल पुनर्जागृत गरि जनताको माझमा आएको समेत स्पष्ट पारे ।
नेपाललाई बाह्य शक्ति केन्द्रहरुको रणनीतिक प्रतिस्पर्धा स्थल बनाउने खेल अनुसार काम भैरहेको भन्दै थापाले ठुला भनिने दलहरु मुलुकको स्वाधिनता र समृद्धिमा भन्दा ब्रम्हलुटमा केन्द्रित भएको समेत आरोप लगाए ।
भ्रष्टाचार, बेरोजगारी र कुशासनको दलदलमा फसाउने अदुरदर्शी दलहरुको विकल्प खोज्ने बेला भन्दै थापाले राप्रपा नेपाल नै अरु असफल दलको विकल्प हुन सक्ने दाबी गरे ।