सत्ता गठबन्धनको बैठक बस्दैँ , तालमेलको ‘मोडालिटी’ बारे थप निर्णय हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

पाँच दलीय सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। स्थानीय निर्वाचनमा जाँदा तालमेलको ‘मोडालिटी’बारे थप निर्णय गर्न भोलि मंगलबार बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट आइतबार साँझ स्वदेश आएकाले तालमेलको ‘मोडालिटी’बारे थप निर्णय गर्न बैठक बस्ने भएको हो।

गठबन्धनको एउटा घटक राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बैठकको मिति तय भए पनि समय तय हुन बाँकी रहेको बताइन् । १७ चैतमा आगामी स्थानीय निर्वाचनमा तालमेल गर्ने गठबन्धनले निर्णय गरेयता प्रदेशदेखि पालिका स्तरमै तालमेल र त्यसको मोडालिटीबारे छलफल सुरू भएको छ ।

तर, तालमेलबारे गठबन्धनको नेतृत्व दल कांग्रेसभित्र असन्तुष्टि देखिएको छ । डा शेखर कोइराला पक्षले कांग्रेस एक्लै निर्वाचनमा जानुपर्नेमा जोड दिँदै तालमेल हुँदा माओवादीलाई मत माग्न नसकिने जनाएको छ ।

काँग्रेसको संस्थापनइतर पक्षको नेतृत्व गरेका कोइराला पक्षदेखि निरन्तर गठबन्धन विरोधी अभिव्यक्ति आएपछि माओवादी पनि त्यति सन्तुष्ट छैन । नेता वर्षमान पुनले माओवादी–एमालेबीच तालमेलबारे छलफल भइरहेको बताइसकेका छन् ।

  • २१ चैत्र २०७८, सोमबार १०:०० प्रकाशित