नेपालको संस्कृतिमाथि आक्रमण भइरहेको छ : ओली

केन्द्रभाग मिडिया

काठमाडौं ।
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले नेपालको संस्कृतिमाथि आक्रमण भइरहेको भन्दै रक्षा गर्नुपर्ने बताएका छन् । एमालेनिकट शुक्रबार जनसांस्कृतिक महासंघको आठौं महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कुनै देश बिगार्नु छ भने त्यस देशको संस्कृतिमाथि आक्रमण हुने भन्दै अहिले नेपालको संस्कृतिमाथि हमला भइरहेकाले रक्षा गर्नुपर्ने बताएका हुन् ।

‘कुनै देश बिगार्नु छ भने त्यसको संस्कृति बिगारे हुन्छ । हामीहरूमाथि सांस्कृतिक हमला भइरहेको छ । त्यो हमलालाई परास्त गर्न र हाम्रो संस्कृतिलाई जीवित राख्न आवश्यक छ,’ ओलीले भन्नुभयो । राष्ट्रियता बचाउन र लोकतन्त्र प्राप्त गर्ने माध्यम संस्कृति रहेको भन्दै उनले नेपालको सभ्यता निकै पुरानो रहेको बताए । ‘हाम्रो सभ्यता धेरै अगाडि देखिको हो । यो सभ्यता डमरु बजाएर सुरु भएको छ ।

त्रिशुल बोकेर नाचेर सुरु भएको सभ्यता छ । यो सभ्यता शिव नाट्यबाट सुरु भएको छ । यो सभ्यता शैव दर्शन, सांख्य दर्शनबाट सुरु भएको छ,’ ओलीले भने, यो सभ्यता यहीँबाट सुरु भएको छ भने शिव यहीँका थिए । सांख्य दर्शनका प्रणेता कपिल मुनी पनि यहीँका थिए ।’ नेपालको सभ्यतामाथि आक्रमण भएको बताएका ओलीले कसले र किन नेपालको संस्कृतिमा आक्रमण गरेको भन्ने विषयमा भने केही खुलाएनन् ।

  • १८ चैत्र २०७८, शुक्रबार १८:०१ प्रकाशित