दिल्ली पुगे प्रम देउवा : एस जयशंकरलाई आजै भेट्दै

केन्द्रभाग मिडिया

दिल्ली उड्नुअघिको तस्वीर

काठमाडौं ।

तीन दिने भारत भ्रमणका लागि प्रस्थान गरेका प्रधानमन्त्री शेरबहादुर देउवा भारतको राजधानी नयाँदिल्ली पुगेका छन् ।

प्रधानमन्त्री देउवा पत्नी आरजु देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा, ऊर्जामन्त्री पम्फा भुसाल र कृषिमन्त्री महेन्द्र राय यादवसहितको प्रतिनिधिमण्डलसहित नयाँदिल्ली ओर्लिएका हुन् । उनी नेपाल एयरलाइन्सको विमानमार्फत दिल्ली गएका हुन् ।

प्रधानमन्त्री देउवालाई भारतका रक्षा तथा पर्यटनराज्यमन्त्री अजय भट्टले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । देउवाको स्वागतमा भारतीय राजदूत विनयमोहन क्वात्रा र विदेश मन्त्रालयका नेपाल हेर्ने सहसचिव अनुराग श्रीवास्तव पनि विमानस्थल पुगेका थिए । साथै भारतका लागि भर्खरै नियुक्त भएका नेपालका राजदूत शंकर शर्मा पनि देउवाको स्वागतमा पुगेका थिए ।

प्रधानमन्त्री देउवासँग शुक्रबार दिउँसो साढे ४ बजे भारतीय विदेशमन्त्री एस जयशंकरले भेटवार्ता गर्नेछन् । भ्रमण टोली नयाँदिल्ली चाणक्यपुरीस्थित होटल आईटीसी मौर्यमा बस्नेछ । त्यहीँ विदेशमन्त्री जयशंकरसँगको भेटवार्ता तय भएको हो ।

त्यसपछि देउवा भाजपाको केन्द्रीय कार्यालय पुग्नेछन् । भाजपा कार्यालयको कार्यक्रम सकिएपछि देउवा दिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सामेल हुनेछन् । दूतावासले दिल्लीमा रहेका नेपाली समुदायका प्रतिनिधिलाई पनि उक्त कार्यक्रममा बोलाएको छ ।

  • १८ चैत्र २०७८, शुक्रबार १५:५५ प्रकाशित