अब ९० रुपैयाँमा नेपाल– भारत रेल यात्रा

केन्द्रभाग मिडिया

आइतवारदेखि नेपालको कुर्थादेखि भारतको जयनगरसम्म औपचारिक रूपमा रेल सञ्चालन हुँदै छ। शनिवार प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाट भर्चुअल माध्यममार्फत भारतको विहार र नेपालको धनुषा जोड्ने रेल खण्डको उद्घाटन गरेपछि रेल सञ्चालनमा ल्याउने अधिकारीहरूले बताएका छन्।

सञ्चालनमा आउने ३५ किलोमिटर रेल खण्ड भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा जयनगरदेखि जनकपुर हुँदै बर्दिबाससम्म निर्माणाधीन ६९ किलोमिटर रेलमार्गको खण्ड हो। उक्त रेलमार्गका लागि भारत सरकारको ८।७७ अर्ब रुपैयाँ अनुदान दिने प्रतिबद्धता जनाएको छ।

‘सामान्य डिब्बामा यात्रा गर्नेहरूले ९० रुपैयाँ बराबरको टिकट खरिद् गर्नुपर्ने हुन्छ। एसीसहितको डिब्बामा भने सामान्यमा भन्दा पाँच गुणा बढी शुल्क लाग्छ,’ नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले भने।

हालसम्म सो रेल दैनिक कति पटक नेपाल–भारत ओहोरदोहोर गर्छ भन्ने तय गरिएको छैन।सञ्चालनमा आउने रेलमा कुल पाँच वटा डिब्बा छन्। तीमध्ये एक वातानुकूलित छ जसमा एक पटकमा ५८ जनासम्म यात्रु अटाउँछन्। तीबाहेक अन्य चार वटा सामान्य डिब्बाको कुल यात्रु क्षमता १,३०० जना हो।

  • १७ चैत्र २०७८, बिहीबार १२:१६ प्रकाशित