चुनावी गठबन्धनलाई लिएर कांग्रेसमा विवाद, औचित्य पुष्टि गर्न शेखरको चेतावनी !

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा माओवादी केन्द्रसहितको पाँच दलीय गठबन्धनलाई लिएर प्रमुख सत्तारुढ नेपाली कांग्रेसमा विवाद देखिएको छ । तीन दिनदेखि पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्य समिति बैठकमा सभापति शेरबहादुर देउवा र इत्तर समूहका नेता डा. शेखर कोइरालाबीच विवाद देखिएको हो ।

पाँच दलीय गठबन्धनलाई आगामी स्थानीय तह निर्वाचनमा पनि लैजान देउवा दृढ रहेको अवस्थामा कोइरालाले प्रश्न उठाएका हुन् । बैठकको सुरुदेखि नै प्रधानमन्त्री समेत रहेका देउवा गठबन्धन गरेर जानुपर्ने अडान छन् भने कोइराला पहिले पार्टीभित्रै एकता कायम गर्नुपर्ने मत राखिरहेका छन् ।

केन्द्रीय कार्य समिति बैठकमा सोमबार डा. कोइरालाले आगामी निर्वाचनमा माओवादीसहितको गठबन्धनको औचित्यमाथि नै प्रश्न उठाएका छन् ।उनले कांग्रेसभित्रकै रुष्ट नेता कार्यकर्तालाई सम्बोधन नगरी गरिने गठबन्धन प्रत्युत्पादक हुन सक्ने चेतावनी पनि सभापति देउवालाई दिए । उनले प्रमुख प्रतिपक्षी नेकपा एमाले अझै पनि बलियो रहेको भनेर सभापति देउवाले कार्यकर्ताको मनोबल गिराउने काम गरेको पनि आरोप बैठकमा लगाए ।

१४ औँ महाधिवेशनमा देउवासँगै सभापतिमा पराजित कोइरालाले बोलेपछि देउवानिकट नेता बालकृष्ण खाँणले आफ्ना कुरा राखे । उनले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्मैका लागि बनेकाले त्यो सहमति तोड्न नहुने अडान लिए । उनले २०७४ को निर्वाचनमा गठबन्धन नगरी कांग्रेस एक्लै लड्दा हारेको कुरा पनि डा. कोइरालालाई सम्झाएका छन्।

  • १४ चैत्र २०७८, सोमबार १८:०९ प्रकाशित