ओलीले भने,‘हामी विगतदेखि नै निर्वाचन आयोगबाट पीडित छौँ ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विगतदेखि नै निर्वाचन आयोगबाट पिडित रहेको बताएका छन् ।

निर्वाचन आयोग एमालेविरुद्ध सत्ता गठबन्धनको सहयोगीको रुपमा भूमिका खेल्दै आएको ओलीले बताएका हुन् । स्थायी कमिटीको आजको बैठकलाई सम्बोधन गर्दै ओलीले निर्वाचन आयोगका कतिपय क्रियाकलाप खेदजनक र सत्तापक्षलाई फाइदा दिने ढंगले अघि बढेको आरोप लगाएका छन् ।

ओलीले भने– हामी निर्वाचन आयोगबाट विगतदेखि नै पीडित छौँ । मतपत्र च्यातेर हामीलाई हराउँदा पनि हाम्रो विरुद्ध फैसला आएका छन् । राष्ट्रियसभा निर्वाचनको मत परिणाम रोकेर हाम्रो सरकार गठनमा अवरोध सिर्जना गरिएका छ । अहिले मतपत्रको रङ बदल्न एमालेविरुद्ध निर्वाचन आयोगले सेटिङयुक्त काम गरिरहेको छ । दलहरूसँग छलफल नगरी यस्तो निर्णय गर्नै मिल्दैन । तर निर्वाचन आयोग अटेर ढंगले अघि बढेकोले हामीले निर्वाचन आयोगको निष्पक्षतामाथि प्रश्न उठाउने ठाउँ देखिएको छ ।

अध्यक्ष ओलीले मतपत्रको रङ बदल्ने,उम्मेदवारी मनोनयन दुई दिन गर्ने,एमालेले निष्कासन गरेका व्यक्तिलाई मान्यता दिएर पार्टी दर्ता गर्ने जस्ता क्रियाकलापलाई एमालेले सामान्य रूपमा नलिएको समेत बताए ।

  • १३ चैत्र २०७८, आईतवार १६:४८ प्रकाशित