पल शाहविरुद्ध आज मुद्दा दर्ता हुँदै

केन्द्रभाग मिडिया

काठमाडौँ ।

झण्डै एक महिनादेखि प्रहरी हिरासतमा रहेका पल शाहविरुद्ध मंगलबार मुद्दा दर्ता हुने भएको छ । आज तनहुँ जिल्ला अदालतमा उनी विरुद्ध मुद्दा गर्ने तयारी भइरहेको बताइएको छ ।

तनहुँ जिल्ला सरकारी वकिल कार्यालयका एक अधिकारीले अपरान्हसमम्म अदालतमा अभियोगपत्र दर्ता गर्ने गरी काम भइरहेको बताए । गण्डकी प्रदेश प्रहरी प्रमुख दिवेश लोहनीले पनि अपरान्हसम्म अभियोग दर्ता भइसक्ने जानकारी आएको बताए । एक नाबालिग गायिकाले बलात्कार गरेको भन्दै उजुरी गरेपछि चर्चित नायकसमेत रहेका शाह अहिले प्रहरी हिरासतमा छन् ।

शाहविरुद्ध पूर्वीनवलपरासी जिल्ला अदालतमा बलात्कारको अभियोग पत्र दर्ता भइसकेको छ। पीडित भनिएकी नाबालिगले दुई ठाउँमा शाहविरुद्ध जाहेरी दिएकी थिइन् ।तनहुँ जिल्ला अदालतमा थुनछेकको बहसपछि मात्र शाहको पूर्वीनवलपरासीको मुद्दाको प्रकृया अगाडि बढाउने तयारी भइरहेको छ ।

तनहुँ अदालतमा अभियोग पत्र दर्ता भएपछि आरोपी शाहको त्यहाँ बयान हुने छ। त्यसपछि थुनछेकको बहसपछि न्यायाधीशले पूर्पक्षका लागि थुनामा पठाउने तथा धरौटी वा साधारण तारेखमा छाड्नेमध्ये एक आदेश गर्नेछन् ।

तनहुँको अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाए पूर्वी नवलपरासी अदालतमा उनको बयान मात्र हुने र फैसलाको प्रकृया अगाडि बढ्न सक्ने छ । पूर्वीनवलपरासी जिल्ला सरकारी वकिल कार्यालयले शाहविरुद्ध १२ देखि १४ वर्षसम्म कैद सजाय माग गर्दै अभियोग दर्ता गरेको छ ।

  • ८ चैत्र २०७८, मंगलवार १३:४७ प्रकाशित