सल्टियो एनआरएनएको विवादः यी दुई बन्नेछन् अध्यक्ष

केन्द्रभाग मिडिया

काठमाडौं ।

गैरआवासीय नेपाली संघ एनआरएनएमा दुई जना अध्यक्ष बन्ने सहमति भएको छ। विगत ६ महिनायता जारी विवाद अन्ततः दुई जना अध्यक्ष बन्ने सहमतिसँगै समाधान भएको छ ।

हिजो अदालतले गैर आवासीय नेपाली संघ एनआरएनएको निर्वाचन रोक्न आदेश दिएको थियो। यही चैत १० र ११ गते हुने भनिएको एनआरएनएको चुनाव रोक्न माग गर्दै परेको रिटमा उच्च अदालत पाटनका न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको इजलासले निर्वाचन कार्यक्रम नगर्नु नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

उच्च अदालत पाटनका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले उक्त मुद्दामा ९ चैतमा दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । तर हिजो मध्यराति अबेरसम्म दुई पक्षीय वार्ता गरि दुई अध्यक्ष रहने र महत्त्वपूर्ण पदहरू थप्ने सहमति गरेर विवाद सल्टाइएको हो ।

सहमतिअनुसार कुल आचार्य र बद्री केसी अध्यक्ष बन्नेछन । जसमा पहिलो १ वर्ष कुल आचार्यले बैठकको अध्यक्षता गर्ने र त्यसपछि बद्री केसीले गर्ने समझदारी भएको छ ।

यस्तै अध्यक्षमा उम्मेदवारी दिएकी रविना थापालाई अन्य पदमा सम्मानजनक हैसियत दिने गरी सहमति भएको बताइएको छ । सहमतिबारे आजै कुल आचार्य र बद्री केसीले एनआरएनएको कार्यालयमा संयुक्त पत्रकार सम्मेलन गर्दैछन्

एनआरएनएलाई जोगाउन दुवै पक्षमा छलफलमा बसेर सहमति जुटाइएको भन्दै अब शेष घले पक्षले मार्च २४ र २५ मा गर्ने भनिएको छुट्टै महाधिवेशन रोकिने भएको छ। यस्तै अदालतमा रहेको मुद्दा पनि फिर्ता लिएर तोकिएकै समय २४ र २५ तारिकको चुनाव र त्यसपछिको महाधिवेशन एकताको महाधिवेशनको रूपमा गरिने बताइएको छ ।

  • ८ चैत्र २०७८, मंगलवार ०९:०३ प्रकाशित