विज्ञापन करको नाममा आतंक सिर्जना गरिएको भन्दै महानगरकै विरोधमा वडाध्यक्ष !

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिकाले विज्ञापन करको नाममा पसल या व्यवसायको परिचयका लागि राखिएका बोर्डहरुको कर लिन लगाएको ठेक्का प्रति महानगरपालिका कार्यपालिका सदस्यले नै विरोध गरेका छन् । महानगरपालिकासँग होर्डिङ बोर्डको ठेक्का लिएको साइन हव कम्पनीले पोखरेली व्यावसायीहरूमाथि विज्ञापन करको नाममा आतंक सिर्जना गरेको भन्दै वडा नम्बर ४ का वडाध्यक्ष शंकर बास्तोलाले विज्ञप्ति नै निकाले विरोध गरेका हुन् ।

बास्तोलाले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विज्ञापन कर सङ्कलन गर्नु अनुचित हैन् तर व्यापारिक प्रतिष्ठानले चिनारीका खातिर राखिएका बोर्डहरू र विज्ञापन बीचको फरक हुनुपर्छ भन्ने मेरो मान्यता हो । आधिकारिक निकायमा दर्ता भएका, राज्य र महानगरपालिकालाई विभिन्न खाले कर तिरेका व्यावसायीहरूले आफ्नो चिनारी र जानकारीको लागि बोर्ड राख्न स्वतन्त्र छन् र हुनुपर्छ । राज्यले नै पहिचान खुल्ने बोर्ड राख्न आदेश दिने अनि १० वर्गफुटको प्रावधान लगाएर त्यही वापत् पुनः करको भारी थोपर्नु कुनै पनि कोणबाट जायज छैन’ विज्ञप्तिमा भनिएको छ ।

आर्थिक वर्ष २०७८/०७९ को लागि १ करोड ५ लाखमा विज्ञापन करको ठेक्का लिएको साइन हव कम्पनीले व्यावसायीलाई दवाव दिएर कर असुल्ने बाटो अवलम्बन गरिरहँदा र आफ्नो दायराभन्दा बाहिर गएर कर उठाउन सुरु गरेको भन्दै पोखरेली व्यावसायीले चर्को आवाज उठाइरहेका बेला वडाध्यक्ष बास्तोलाले महानगरकै निर्णयको विरोधमा विज्ञप्ति निकालेका हुन्।

वडा अध्यक्ष बास्तोलाले महानगरको बोर्ड बैठकमा व्यापक छलफल नगरी व्यावसायीहरूमाथि लादिएको यो करले राजश्व संकलन सघाउँदैन बरु करको दायरा बढाउने महानगर कै मान्यतालाई आघात पु¥याउँछ, विज्ञप्ति उल्लेख गरिएको छ । ‘म व्यवसायीहरुकै समाधान निकालन म पोखरा महानगरको नेतृत्वसंग जोडदार माग गर्दछु ।

म व्यवसायीको साथमा छु । विज्ञापन करको नामममा वडा नं. ४का व्यवसायीहरुलाई अवाञ्छिित तत्वले दुःख दिएमा जनप्रतिनिधिका हसियतले त्यसको कानूनी उपचार खोजिने दृढता व्यक्त गर्दै हाल देखिएको समस्या समाधानको लागि सहजीकरण गर्न तयार रहेको व्यहोरा पनि सवीनय जानकारी गराउँछु,’ अध्यक्ष बास्तोलाले जारी गरेको विज्ञप्तिको अन्त्यमा लेखिएको छ ।

  • ७ चैत्र २०७८, सोमबार २०:३१ प्रकाशित