पल प्रकरणः ५ दिन म्याद थप्ने तयारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहमाथि अनुसन्धानका लागि आज थप ५ दिन म्याद थप्ने तयारी भएको छ।

बालिका बलात्कार कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका अभिनेता पल माथि दोस्रोपटक थपिएको १२ दिनको समय शुक्रबार सकिँदै छ ।

अझै अनुसन्धान बाँकी रहेकाले आज पुन म्याद थप्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकोछ। तनहुँ जिल्ला अदालतले दोस्रोपटक फागुन २२ गते १२ दिनको समय दिएर शाहमाथि अनुसन्धानको समय दिएको थियो ।

तर यही बीचमा नवलपुरमा दर्ता भएको जबरजस्ती करणीको मुद्दामा अनुसन्धानका लागि फागुन २४ गते पल शाहलाई नवलपुर लगिएपछि तनहुँ प्रहरीले अनुसन्धानको बाँकी काम गर्न सकेको छैन । जसकारण पल शाहमाथिको अनुसन्धान अझै नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँले बताए छ ।

अनुसन्धानको समय नसकिएकोले जिल्ला प्रहरी कार्यालय तनहुँले सरकारी वकिलमार्फत थप समय माग्ने भएको हो। तनहुँ जिल्ला सरकारी वकिल कार्यालय स्रोतका अनुसार हालसम्म अनुसन्धानको लागि १९ दिनको समय लिइसकेको कारण अझै ६ दिन अनुसन्धानका लागि न्यायिक हिरासतमा राख्न पाइन्छ ।

यद्यपि जिल्ला सरकारी वकिल कार्यालयले भने थप अनुसन्धानका लागि ५ दिनको समय माग गर्न लागिएको बताएको छ । यदि अदालतले ५ दिनको समय दिएको अवस्थामा यो नै अन्तिमपटक म्याद थप हुनेछ । त्यसपछि अदालतमा अभियोग दर्ता भई थुनछेक बहस हुने जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

  • ४ चैत्र २०७८, शुक्रबार १३:५६ प्रकाशित