गण्डकीमा माओवादी केन्द्रले किन गठन गरेन कमाण्ड ? यस्ता छन् कारण

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा माओवादी केन्द्रले ३० वैशाख मा हुने स्थानीय तहको चुनावका लागि ‘जसको नीति उसकै नेतृत्व’ को नारा लिएर देशभर २८ वटा कमाण्ड गठन गरेको छ। तर गण्डकी प्रदेश र मधेश प्रदेशमा माओवादीले कमाण्ड गठन गरेको छैन ।

कमाण्डर तोक्ने काम माओवादीको सम्बन्धित प्रदेश कमिटीकै सिफारिसमा हुने हुँदा गण्डकीमा नतोकिएको हुनसक्ने माआवदी केन्द्रका नेता देव गुरुङले बताए । उनका अनुसार ६ चैतमा प्रचण्ड पोखरा आउने कार्यक्रम छ । त्यसपछि ८ गते बस्ने बैठकले कमाण्डर तोक्ने तयारी रहेको उनले जानकारी दिए ।

अन्यत्र कमाण्डर तोकिसक्दा गण्डकीमा माओवादी कम्जोर भएकाले ढिला भएको हो भन्ने जिज्ञासामा देब गुरुङले ‘कमजोर भएर नभई प्रदेशको बस्तुस्थितिको विश्लेषण गरेर अध्यक्ष कम्रेड नै पोखरा आउने कार्यक्रम रहेकाले त्यसपछि तोक्ने भन्दा ढिलाई भएको हुन सक्छ’ भनेका छन् ।

‘साथीहरुले अध्यक्ष कम्रेड नै पोखरा आउने भनेपछि किन हतार गर्ने भन्ने भएर पहिले निर्णय गर्नुभएन । यहाँहरुले सोधेजस्तो माओवादी गण्डकीमा कमजोर छैन । गण्डकीमा धेरै प्रभावशाली नेताहरु हुनुहुहुन्छ । कमजोर भएरै कमाण्डर तोक्न ढिला भयो भन्ने सोच्न भएन । गण्डकीमा हामी कमजोर होइन, मजबुद् छौं । होर्नुहोला त्यो त निर्वाचनले देखाईहाल्छ नि’ उनले भने ।

माओवादी केन्द्रले २८ वटा कमाण्ड तोकेरै निर्वाचनको तयारीमा होमिएको छ । मधेश प्रदेशमा दुई दिनभित्र कमाण्ड तोकिने एक नेताले जानकारी दिए । गण्डकीका इन्चार्ज हितराज पाण्डेले ८ चैतमा कमान्डरबारे निर्णय गरिने जानकारी दिए । उनका अनुसार ६ चैतमा अध्यक्ष प्रचण्ड पोखरा आउँदैछन् ।

गण्डकी स्तरीय प्रशिक्षण सकेपछि ८ गते कमाण्डर तोकेर जिल्ला खटाउने उनले जानकारी दिए । ‘चैत ६ गते अध्यक्ष कम्रेड आउनुहुन्छ । हाम्रो प्रशिक्षण कार्यक्रम छ । त्यो सकेपछि ८ गते बैठक बस्छौं र कमाण्डर तोकेर जिल्ला जिल्ला पठाउँछौं’ उनले भने ।

 

  • ४ चैत्र २०७८, शुक्रबार ०९:०९ प्रकाशित