निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित, दलहरुले के के गर्न पाउँदैनन् ?

केन्द्रभाग मिडिया

काठमाडौं ।
निर्वाचन आयोगले आगामी वर्ष हुने निर्वाचनका लागि आचारसंहिता तयार पारेको छ । उक्त आचार संहिता बिहीबार नेपाल राजपत्रमा प्रकाशित भएको छ ।

आचारसंहितामा सरकार, राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र परीवेक्षकलगायतले पालना गर्नुपर्ने कुराहरू उल्लेख गरिएको छ ।

आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले आफ्नो कार्यालय बाहेकका स्थानमा डिजिटल बोर्ड, फ्लेक्स र ग्लोसाइन बोर्ड राखेर प्रचारप्रसार गर्न प्रतिबन्ध लगाएको छ । डिजिटल बोर्डबाट हुन सक्ने प्रचार रोक्न यस्तो प्रावधान राखेको हो । उम्मेदवारको कार्यालयमा राखिने तुलको कपडामा बनाईएको ३र३ फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह मात्रै राख्न पाउने प्रावधान आचारसंहितामा राखिएको छ ।

आचार संहितामा सामाजिक सञ्जालमा गर्न नहुने कुराहरू पनि समावेश गरिएको छ । राजनीतिक दलहरूले दुई जना मुख्य प्रचारकको नाम आयोगलाई बुझाउनु पर्ने र उनीहरूले हेलिकप्टर पनि प्रयोग गर्न पाउने आचार संहितामा उल्लेख छ ।

आचारसंहितामा स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्न नहुने, कार्यक्रम गर्नु भन्दा ७२ घण्टा अघि प्रशासन र प्रहरीलाई जानकारी दिनुपर्ने प्रावधान राखिएको छ । अघिल्लो निर्वाचनमा ४८ घण्टा अघि जानकारी दिनु पर्ने व्यवस्था थियो । जुलुस वा आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिन्ह, झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट लगाउन र झोला बोक्न नहुने संहितामा राखिएको छ ।

उम्मेदवारले ए फोर साइजको कागजमा आफ्नो व्यक्तिगत पहिचानको विवरण खुलाई वितरण गर्न पाइने प्रावधान छ । घरधनीको अनुमति नलिई कसैको निजी घरजग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोलमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न नहुने संहितमा समेटिएको छ । उम्मेदवारले क्लव, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रम जस्ता संस्थालाई नगद वा जिन्सी वितरण गर्न, अनुदान वा आर्थिक सहायता, चन्दा, पुरस्कार दिन वा दिने घोषणा गर्न पनि पाइने छैन ।

सरकारी कार्यालय वा सामुदायिक विश्वविद्यालय वा विद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नपाइने उल्लेख छ ।

निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा झुटा साइट र एकाउण्ट सञ्चालन गर्न वा गराउन नहुने राजपत्रमा उल्लेख छ ।

उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा खाता खोल्नुपर्नेछ। उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा उम्मेदवारको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने आचारसंहितामा उल्लेख छ ।

  • ३ चैत्र २०७८, बिहीबार १८:२७ प्रकाशित