उजुरी परेपछि पल शाहले सार्वजनिक गरे आफूमाथि षडयन्त्र गर्ने चार जनाको नाम

केन्द्रभाग मिडिया

काठमाडौं ।

नाबालिगमाथि यौन शोषण गरेको उजुरी परेपछि पल शाहले आफ्नो प्रतिक्रिया दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत आफ्नो बचाउ गर्दै आफुमाथि नियोजित ढंगले षडयन्त्र भएको बताएका छन् । पललाई यतिबेला प्रहरीले खोजी गरिरहेको छ । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको उजुरी परेको छ ।

उनले आफूमाथि नियोजित षडयन्त्र भएको भन्दै दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईंमाथि षडयन्त्र गरेको आरोप लगाएका हुन् ।

उनले लेखेका छन्, ‘ म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जाँदैछु। सायद अहिले सम्म मलाई हजुरहरू सबैले आफ्नो मन देखि निकाली सक्नु भएको होला र गाली गलौज पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईंहरू सामु म माथि गरिएको षडयन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु ।

केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा ममाथि सुन्न नसकिने खालको कुराहरू गर्नुभयो र जुन आरोप म माथि लगाइएको छ ती सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथि प्रहार गरिएको छ ।

शाहले आफूमाथि षडयन्त्रको भएको प्रमाणस्वरूप केही अडियो प्रमाणहरू पनि सार्वजनिक गरेका छन् । ‘सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठीक भएको छ तपाईंहरू भगवान् रुपी दर्शक, मिडियाकर्मी साथीहरूले औंलाईदिनुहोला । यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

ती गायिकालाई प्रयोग गरेर दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईले नियोजित ढङ्गले षड्यन्त्र गर्ने पलको दाबी छ ।

  • १२ फाल्गुन २०७८, बिहीबार १०:३९ प्रकाशित