प्राथमिकता निर्धारण गरेर अगाडि बढ्न मुख्यमन्त्री पोखरेललाई डा.भट्टराईको सुझाव

केन्द्रभाग मिडिया

पोखरा ।
पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्राथमिकता निर्धारण गरेर अगाडि बढ्न गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलाई सुझाव दिएका छन् । मुख्यमन्त्री पोखरेलको निवासमा मंगलबार भएको भेटवार्तामा डा. भट्टराईले यस्तो सुझाव दिएका हुन् ।

पूर्व प्रधानमन्त्री भट्टराईले गठबन्धलाई अझै दरिलो कसरी बनाउने भन्ने बारेमा आफूहले निरन्तर छलफल गरिरहेको भनाइ राखे । यो सरकारलाई असफल हुने छुट नरहेको भन्दै उनले ससाना मतभेदलाई भित्रै मिलाएर लैजान उनले सुझाए । उनले विषेश राजनीतिक परिवेशमा प्रदेश र संघमा गठनबन्धनको सरकार बनेको भन्दै सानातिना मतभेदलाई पन्छाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।

मुख्यमन्त्री पोखरेलले छोटो अवधिमा नीति तथा कार्यक्रम र बजेट ल्याउँदा भएका कतिपय त्रुटि र कमजोरी सच्याउँदै अगाडि बढ्नुपर्ने अवस्था रहेको बताए । बहुवर्षे योजनाका कारण विकासको धेरै बजेट चलाउन नपाउने अवस्था रहेको भन्दै मुख्यमन्त्री पोखरेलले बाँकी रकमबाट बजेट बनाउँदा कतिपय योजना छुटेको बताए ।

प्रदेशको क्षमता अनुसारका योजना अगाडि बढाउनका लागि काम सुरु भइसकेको र केही ठूला योजनाका लागि संघ सरकारबाट थप रकमको अपेक्षा गरिएको उनको भनाइ थियो । बाढीपहिरोका कारण अहिले प्रदेशका ११ वटै जिल्ला प्रभावित भएकाले तत्काल राहत र उद्धारका काम भइरहेको र ठूला संरचनामा पुगेको क्षति पुनर्निर्मााणका लागि संघ सरकारको भर परेको मुख्यमन्त्री पोखरेलले बताए ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार भरत कोइरालाका अनुसार पूर्व प्रधानमन्त्री डा. भट्टराईका साथमा जनता समाजावादी पार्टीका गण्डकी प्रदेश संयोजक मोति रिजाल, गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य थिए ।

प्रदेशमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढलेपछि जेठ २३ मा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वमा गठवन्धन सरकार बनेको छ । गठवन्धनमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी र एकजना स्वतन्त्र सांसद छन् ।

 

 

 

 

 

 

 

  • १५ भाद्र २०७८, मंगलवार २२:०६ प्रकाशित