एमाले कास्की समानान्तर कमिटी एकीकृत समाजवादीमा रुपान्तरण

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमालेको कास्कीमा बनेको समानान्तर जिल्ला कमिटी नेकपा एकीकृत समाजवादी पार्टीको जिल्ला कमिटीमा रुपान्तरण भएको छ । नेपाल समूहले धनराज आचार्यको संयोजकत्वमा बनाएको समान्तर कमिटी नै एकीकृत समाजवादी पार्टीमा मंगलबार रुपान्तरण भएको हो ।

त्यसैगरी एमाले पोखरा महानगरमा बनेको समानान्तर कमिटी पनि एकीकृत समाजवादी पार्टी महानगर कमिटीमा रुपान्तरण भएको छ ।
नेकपा एकीकृत समाजवादीका नेताहरु तुलबहादुर गुरुङ, चुडामणि जंगली, शारदा प्रसाद सुवेदी र श्रीनाथ बरालको उपस्थितिमा भएको कास्की जिल्ला कमिटी तथा पोखरा महानगर कमिटीको संयुक्त बैठक एवं कमिटी रुपान्तरण कार्यक्रममा एमालेको जिल्ला र महानगर समानान्तर कमिटी एमाले समाजावदी जिल्ला र महानगर कमिटीमा रुपान्तरण गरिएको रुपान्तरित एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्याले जानकारी दिए ।

यस अगाडि १९ चैतमा कास्कीमा तत्कालिन एमाले वरिष्ट नेता माधव नेपाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेको उपस्थितिमा नेपाल समूहले समानान्तर कमिटी घोषणा गरेको थियो । समानान्तर कमिटी बनाउँदाको अवस्था अहिले पनि रहेकाले जिल्ला र महानगर कमिटी पूरै नयाँ पार्टीमा रुपान्तरण भएको अध्यक्ष आचार्यले बताए । कमिटीको अध्यक्षमा धनराज आचार्य, सचिवमा होम नेपाली, सहसचिवमा पूर्ण लामा छन् । कमिटीमा उपाध्यक्ष रहेका उपाध्यक्ष शोभाकर भण्डारीको निधन भएको छ ।

समानान्तर कमिटीलाई एकीकृत समाजवादीमा रुपान्तरण कमिटी घोषणा कार्यक्रममा  बोल्दै एमाले नेता तुलबहादुर गुरुङले एमाले सिद्धान्तको कार्यान्वयन र बैचारिक रुपमै मतभेद भएका विद्रोह गर्नुपरेको बताए ।

नेताको इगो र पदका कारण पाटी विभाजन नगरिएको उनको प्रष्टोक्ति थियो । ‘एमालेमा इगो या पदका लागि विद्रोह नगरिएको होइन । कम्युनिष्ट मुल्य मान्यता भन्दा बलमिच्याइले अगाडि बढ्ने काम भयो, अंहकारले काम ग¥यो । त्यागी र इमान्दार कार्यकर्ताको संरक्षण नहुने अवस्था आयो । सिद्धान्तको सहिरुपमा कार्यान्वयन हुने अवस्था देखिएन । त्यहाँ बसेर कम्युनिष्ट आन्दोलन सहि दिशातर्फ लैजान नसकिने देखरै हामीले कम्युनिष्ट आन्दोलन सहिढंगले हाँक्न र जनतको सेवा गर्नका लागि विद्रोह गर्नुपरेको हो’ उनले भने ।

नेता चुडामणि जंगलीले पार्टीला गुटले कब्जा गरेर सिद्धान्त हिन र दिशाहिन बनाएपछि त्यहाँबाट परिवर्तन सम्भव नदेखेर विद्रोह गर्नुपरेको बताए । अर्का नेता शारदाप्रसाद सुवेदीले अधिकांस असल नेता कार्यकर्ता अब एमालेमा नरहेको र बँचेकुचेका इमान्दार नेता कार्यकर्ताले पनि छिट्टै उक्त पार्टी छोड्ने दाबी गरे ।

इमान्दार कार्यकर्ताका लागि आफूहरुले पार्टी निर्माण गरेकाले सबै इमान्दार नेता कार्यकर्ता विस्तारै आफ्नो पार्टीमा आउने उनको भनाई थियो । नेता श्रीनाथ बरालले अर्को एमाले बन्नका लागि नेकपा समाजवादी गठन नगरिएको बताए । उनले एकीकृत समाजवादीलाई कम्युनिष्ट पार्टीका मूलधारको रुपमा स्थापित गरिने दृढता व्यक्त गरे । उनले देश व्यापिरुमा नयाँपार्टीमा लहर आउने क्रम चलिसकेको बताए । दृढतापूर्व पार्टी निर्माण र विस्तारमा लाग्न उनले आग्रह गरे ।

कार्यक्रममा रुपान्तरित एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्य, सचिव होमबहादुर नेपाली, सहसचिव पूर्ण लामा लगाएतका नेताहरुले सम्बोधन गरेका थिए । उक्त अवसरमा यही १८, २० र २१ भदौभित्र कास्कीका सबै स्थानीय तह र तिनका वडाहरुमा समेत एकीकृत समाजवादीका कमिटी गठन गरिसक्ने जानकारी दिइएको थियो ।

एमाले विभाजन भएपछि कास्कीमा केन्द्रीय सदस्य तुलबहादुर गुरुङ, चूडामणि जंगली, दिलु पन्त र श्रीनाथ बराल एकीकृत समाजवादीमा लागेका छन् ।

  • १५ भाद्र २०७८, मंगलवार १७:३० प्रकाशित