बाबुनानीको पढाईमा चासो राख्ने अभिभावकलाई वडा कार्यालयको पुरस्कार

केन्द्रभाग मिडिया

पोखरा ।

तपाई आफ्ना बाबुनानीको पढाई बारे विद्यालयमै पुगेर कत्तिको चासो राख्ने गर्नुभएको छ ? विद्यालयमा बाबुनानीले कत्तिको पढ्छन् र आफूले पनि निर्वाह गर्नुपर्ने दायित्व के हो भनेर सोध्नु भएको छ या छैन ? चासो राख्नु भएको छैन भने चासो राख्ने गर्नुस् । यसरी चासो राख्दा विद्यालयलाई विद्यार्थी प्रति जिम्मेवार बनाउन सहयोग गर्छ । साथै बाबुनानीले पनि मेरा अभिभावक विद्यालयमै आएर चासो राखे भनेर बढि मेहनत गर्छन् । यसरी आफ्ना बाबुनानीको पढाईको विषयमा विद्यालयमै पुगेर चासो राख्ने बाबुनानी मध्ये धेरै चासो राख्ने अभिभावकलाई पोखराको एउटा वडाले वार्षिक प्रोत्साहन पुरस्कार दिने निर्णय नै गरेको छ ।

पोखरा महानगरपालिकाको वडा नम्बर ५ ले आफ्नो वडामा सामुदायिक विद्यालयमा अध्ययन गर्ने बाबुनानीका अभिभावकलाई यस्तो प्रोत्साहन पुरस्कार दिने निर्णय गरेको हो । यो वर्षदेखि २ वटा सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीका अभिाभावक मध्ये विद्यालयमा पुगेर हाम्रो छोराछोरीको पढाई के कस्तो छ ? भनेर जिज्ञासा राख्ने अभिभावकका १०/१० छात्रछात्रालाई उपस्थितिका आधारमा धेरै पटक विद्यालय पुग्ने अभिभावकलार्ई ४० हजार बराबरको २/२ हजारका दरले वार्षिक प्रोत्साहन पुरस्कार स्वरुप स्टेशनरी वितरण गर्ने निर्णय गरेको छ ।

वडा नम्बर ५को शिक्षा समितिको बैठक समितिका समेत अध्यक्ष रहेका वडाध्यक्ष धन बहादुर नेपालीको अध्यक्षतामा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । बैठकले पोखरा ५ भूगोल भित्र रहेका सामुदायिक एवं निजी संस्थागत विद्यालयको शैक्षिक सत्र २०७७ को प्रगति विवरण २०७८ कार्तिक १५ गतेभित्र पेश गर्न निर्देशन गर्ने निर्णय पनि गरेको छ । यस निर्णयबाट विद्यार्थीका अभिभावकलाई प्रत्यक्ष विद्यालयसँग गाढा सम्बन्ध जोड्ने र विद्यार्थीलाई पढाईमा प्रोत्साहन मिल्ने विश्वास लिइएको वडाध्यक्ष नेपालीले बताए ।

यसैगरी अभिभावक नभएका, अपाङ्ग, उत्पीडित समुदाय, आर्थिक स्तर कमजोर भएका परिवारका ९ जना बालबच्चाहरुलाई विद्यालय भर्ना, डे«स एवं स्टेशनरी वितरण गरिएको र त्यस्ता विद्यार्थीलाई निरन्तर सहयोग गर्ने निर्णय समेत उक्त बैठकले गरेको उनले जानकारी दिए ।

  • ३ कार्तिक २०७८, बुधबार १८:५५ प्रकाशित