सभामुखको कार्यकक्ष घेराउ गर्दै एमालेका सांसदहरु

केन्द्रभाग मिडिया

पोखरा । पार्टीले कारबाही गरेका सांसदलाई पदमुक्त गरेको सूचना तत्काल टाँस गर्न माग गर्दै नेकपा एमालेका सांसदहरुले सभामुख अग्नि प्रसाद सापकोटाको कार्यकक्ष घेराउ गरेका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा एमाले सांसदहरु पुगेर कारबाही प्रक्रिया अघि बढाउन दबाव दिँदै घेराउ गरेका हुन् ।

माधव नेपाल लगायत १४ सांसदलाई पार्टीले गरेको कारबाही अघि बढाउन दवाव दिन सभामुखको कार्यकक्ष घेराउ गरिएको एमाले सांसद तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले केन्द्र खवरलाई जानकारी दिए ।

सभामुखको च्याम्बर घेराउ गर्नेमा बाँस्कोटासहित खगराज अधिकारी, लालबाबु पण्डित, शान्ता चौधरी, थममाया थापा, निरु पाल, राजेन्द्र गौतम, कृष्ण पोखरेल लगायत छन् ।

कारबाही परेका १४ जना सांसदहरुलाई चाँडो पदमुक्त गर्न बिहीबार पनि एमालेले सापकोटाको ध्यानाकर्षण गराएको थियो ।
एमालेका नेता तथा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई तथा सचेतक शान्ता चौधरी, महेश बस्नेत लगायतले सभामुख सापकोटालाई भेटेर कारवाहीमा परेका सांसदलाई पदमुक्त गर्न दवाव दिएका थिए ।

एमाले अध्यक्ष ओलीले विहीबार एक सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा सभामुख सापकोटालाई न्यायाधीश वा माओवादीजस्तो नवन्न चेतावनी दिँदै १४ जनामाथिको कारवाहीको सूचना तत्काल नटाँसिए संसद चल्न नदिने बताएका थिए ।

एमालेले भदौ १ गते माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, मेटमणि चौधरी लगायतलाई सांसद पदबाट हटाउने निर्णय गर्दै संसद सचिवालयमा पत्र पठाएको थियो ।

तर,एमालेको उक्त कारवाही अवैधानिक भन्दै माधव नेपालसहितका नेताहरुले भदौ २ गते उक्त पत्र अघि नबढाउन सचिवालयमा अर्को पत्र पठाए पनि दर्ता भएको थिएन ।

कारबाही गरिएको ब्यहोराको पत्र दर्ता भएको १५ दिनभित्र संसद चलेको भए सदनमा सभामुखले जानकारी गराउने नभए सूचना टाँस गरेर जानकारी गराउने कानूनी व्यवस्था छ ।

 

  • ४ भाद्र २०७८, शुक्रबार १३:०० प्रकाशित