१४ सांसदलाई कारबाही नगरेको भन्दै एमालेले गरायो सभामुखको ध्यानाकर्षण

केन्द्रभाग मिडिया

काठमाडौं । ने

नेकपा एमालेले कारवाही गरेका माधव नेपालसहित १४ जना सांसदलाई तत्काल प्रतिनिधिसभा सदस्यबाट पदमुक्त गरेको सूचना टाँस्न सभामुख अग्नि सापकोटालाई आग्रह गरेको छ ।

एमालेको तर्फबाट प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरीलगायतका नेताहरूले आज सभामुखलाई भेटेर माओवादी र जसपाले कारवाही गरेका सांसदलाई २४ घण्टाभित्रै पदमुक्त गरेको नजिर पेस गर्दै एमालेविरुद्ध नलाग्न चेतावनी दिएको हो ।

सभामुख सापकोटाले एमाले नेताहरूसँग शुरूमा आफू कसैको दबाबमा काम नगर्ने भन्दै आफूसँग चर्का कुरा नगर्न भनेका थिए । तर, एमाले नेताहरूले सभामुखलाई कानूनको कार्यान्वयन गर्नेबाहेक अरु विकल्प नरहेकोले विलम्ब नगर्न आग्रह गरेका थिए ।

प्रमुख सचेतक भट्टराईले भन्नुभयो,‘सभामुखले के गर्ने वा नगर्ने भन्ने कुरै छैन । कानूनले जे भनेको छ त्यो गर्ने हो । कारवाही पार्टीले गरेपछि ठीक–बेठीक अदालतले भन्ला । तर, सभामुखले हिजोका उदाहरण समेत हेरेर खुरुक्क सूचना टाँस्नुपर्छ । नत्र एमालेले सभामुखलाई सहयोग गर्न सक्दैन ।’

एमाले नेताहरूले तत्काल कारवाही प्रक्रिया अघि बढाउन चेतावनी दिएपछि सभामुख सापकोटाले आफूले बुझेर अघि बढाउने आश्वासन दिएका छन् ।

सापकोटले सचिवलायसँग परामर्श गर्ने बताए। सभामुखलाई भेट्न एमालेका नेताहरू खगराज अधिकारी, कृष्णभक्त पोखरेल, भूमि त्रिपाठी, महेश बस्नेत, निरु पाल, पार्वत गुरुङ, राजेन्द्र गौतम, भगवती न्यौपाने, गंगा चौधरीलगायत सांसद पुगेका थिए ।

  • ३ भाद्र २०७८, बिहीबार १५:०३ प्रकाशित