काठमाडौं ।
भोलि(शुक्रबार) देखि दशैंलक्षित खोप सुरु हुने भएको छ ।
काठमाडौं महानगरले चाडपर्वलाई लक्षित गर्दै भोलिदेखि कोरोना विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । काठमाडौं महानगरपालिका जनस्वास्थ्य विभागको अनुसार १८ वर्ष माथिका सबै नागरिकलाई ३२ वटै वडाबाट खोप दिइनेछ।
असोज २२ गतेदेखि सुरु हुने कार्यक्रम २४ गतेसम्म सबै वडाबाट कोरोनाविरुद्धको खोप अभियान चल्नेछ। यो पहिलो मात्रा लिनेका लागि मात्र रहेको जनाएको छ ।
खोप लिन विद्युतीय दर्ता गरेर फोटो भएको परिचय पत्रसहित खोप केन्द्र जानुपर्नेछ। महानगरका ३२ वटा खोप केन्द्रबाहेक नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, निजामति कर्मचारी अस्पताल, बानेश्वर, परोपकार प्रसुति तथगा स्त्रीरोग अस्पताल, थापाथली र वीरेन्द्र सैनिक अस्पताल छाउनीबाट पनि खोप लिन सकिनेछ।
देशभर ६४ लाख १९ हजार नागरिकले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म देशभर ६४ लाख १९ हजार ४८० नागरिकले पूर्ण मात्रा खोप लगाएका हुन्।
हालसम्म २९.५ प्रतिशत नागरिकले पूर्ण मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ। आगामी असोज मसान्तसम्म कूल जनसंख्याको ३३ प्रतिशत नागरिकलाइ खोप लगाउने स्वास्थ्य मन्त्रालयले योजना बनाएको छ। २ करोड ६५ लाख नागरिकलाई कोरोनाविरुद्ध पूर्ण खोप लगाइसक्ने सरकारको लक्ष्य छ।