इपिएल : विराटनगरलाइ ७ विकेटले पराजित गर्दै पोखरा राइनोज शिर्ष दुईमा

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा राइनोज एभरेष्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको दोश्रो स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा विराटनगर वारियर्सलाई ७ विकेटले पराजित गर्दै राइनोज अंक तालिकाको दोश्रो स्थानमा पुगेको हो ।

टियु क्रिकेट मैदानमा विराटनगरले दिएको १ सय ७३ रनको लक्ष्य पोखराले १७ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । पोखराको जितमा असेला गुनारत्नेले अविजित रहदै ५० रनको अर्धशतकीय पारी खेले । २४ बलको सामना गरेका उनले ३ छक्का र ४ चौका प्रहार गरे । त्यसैगरी, रिचार्ड लेभीले २६ बलमा ४७ रनको महत्वपूर्ण योगफल तयार पारे । उनले ३ छक्का र ४ चौका प्रहार गरेका थिए ।

त्यस्तै पोखराका साहन अर्चाचिगेले ४३, कप्तान विनोद भण्डारी १५ तथा रित गौतमले ५ प्रहार गरे । विराटनगरका प्रतिष जिसी, सिकन्दर राजा र हरी चौहानले समान एक÷एक विकेट लिए ।

टस जितेर पोखराले फिल्डिङ्ग रोजेपछि ब्याटिङ्गमा उत्रिएको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । विराटनगरका लागि आसिफ शेखले ३३ बलमा ६ वटा चौकाको मद्दतमा सर्वाधिक ४४ रन जोडे भने सिकन्दर राजाले २० बलमा २९ रन जोड्दा तीन छक्का र एउटा चौका प्रहार गरे ।

सन्दीप रजालीले २८ रनको पारी खेल्दा कप्तान करण केसीले ९ बलमा ३ छक्का प्रहार गर्दै २४ रन बनाए । त्यस्तै, दिलसान मुनाविराले १६, अनिल साहले १२ र चन्द्रपाउल हेमराजले २ रन जोडे । पोखराको बलिङ्गमा बिक्रम सोवले २ विकेट लिए । विवेक यादव, नन्दन यादव र साहन अर्चाचिगेले एक÷एक विकेट हात पारे ।

जितसँगै चार खेलमा २ जित र एक खेलमा अंक बाडेको पोखरा ५ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । यो पराजयसंगै विराटनगर वारियर्स चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।

 

  • १६ आश्विन २०७८, शनिबार १९:३२ प्रकाशित