नेपालमै पहिलो पटक पोखरामा खेलकुद विषयमा स्नातक तह पढाइ हुने

केन्द्रभाग मिडिया

काठमाडौँ ।
गण्डकी विश्वविद्यालयले स्थापनाको दुई वर्षपछि पढाइ सुरु गर्ने भएको छ । विश्वविद्यालयले आइतबारदेखि पठनपाठन सुरु गर्ने तयारी गरेको हो ।

नेपालमै पहिलो पटक खेलकुद विषयमा स्नातक तह ‘ब्याचलर्स इन स्पोर्टस् म्यानेजमेन्ट’(बिएसएम) र ब्याचलर्स इन इन्फरमेसन टेक्नोलोजी (बिआईटी) विषयको पढाइ सुरु गर्नुअघि विश्वविद्यालयले पहिलो सत्रमा भर्ना भएका विद्यार्थीलाई उत्प्रेरणा र अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रम शुभारम्भ गर्दै विश्वविद्यालय न्यायिक परिषद्का अध्यक्ष दिनेशचन्द्र देवकोटाले विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जान सक्ने गरी जनशक्ति उत्पादन गरिने धारणा व्यक्त गरे । नेपालको इतिहासमा पहिलो पटक विश्वविद्यालयमा यति ठूलो आकर्षण देखिनु हामी सबैका लागि गौरवको विषय हो, उनले भने, गण्डकी प्रदेशको विशिष्टतालाई ध्यान दिँदै कुनकुन मोडलमा अध्यापन गराउन सकिन्छ त्यसबारे विश्वविद्यालय गम्भीर भएर अगाडि बढ्नेछ ।

गण्डकी प्रदेशका मुख्य सचिव दामोदर रेग्मीले विश्वविद्यालय स्थापनाको सुरुआतमै स्नातक तहमा खेलकूद व्यवस्थापनको अध्ययन सुरु हुनु खुसीको विषय भएको बताए । प्रदेशमा खेलकुद पर्यटनको सम्भावना रहेकाले पनि यो विषयमा दक्ष जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गर्दै उनले सर्टिफिकेटभन्दा पनि व्यावसायिक जनशक्तिको आवश्यकता औंल्याए ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष रघुराज काफ्लेले प्रदेशको विशिष्टितालाई आत्मसात् गर्दै प्रदेशको समृद्धिका लागि विश्वविद्यालयले आफ्ना योजना अघि बढाउने बताए ।

विश्वविद्यालयमा बीएसएममा १६, बिआईटीमा ३१ र बिफर्मामा २० गरी ६७ विद्यार्थी भर्ना भएका छन् ।

  • १६ आश्विन २०७८, शनिबार १७:५५ प्रकाशित