एमालेसंग एक्लै लड्ने कांग्रेसको हिम्मत छैन : ओली

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई एमालेसंग एक्लै निर्वाचन लड्ने हिम्मत नभएको बताएका छन् । विगतमा पनि माओवादी केन्द्रसंग मिलेर आफूहरु विरुद्ध निर्वाचन लढेको चर्चा गरेका उनले त्यसो गर्दापनि उसलाई फाइदा नभएको टिप्पणी गरे । मंगलबार नेकपा एमाले कास्कीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

अबपनि मावादीसंग मिलेर चुनाव लडे माओवादीलाई फाइदा भएपनि कांग्रेसलाई भने फाइदा नहुने तर्फ उनले सचेत गराएका छन् । ‘कांग्रेससंग हामीसंग लड्ने हिम्मत छैन । उ एक्लै लढ्दैन । विगतमा पनि उसले माओवादी केन्द्रसंग मिलेर हामीसंग लडेको हो । त्यसको फाइदा मत पत्र च्यातेरै भएपनि छोरीलाई जिताएकै हुन् । यहाँ पोखरामा के भयो तपाईहरुलाई थाहा छँदैछ ।’ उनले भने ।
ओलीले गठबन्धन गरेरै चुनाव लढेपनि आफ्नो दललाई अरुले पारजित गर्ननसक्ने ठोकुवा गरे । ‘५÷१० पार्टी जति उत्खनन् गरेर ल्याएपनि एमालेले जित्छ ।’

अध्यक्ष ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई ‘अत्यन्त बेसरमको मान्छे’ भनेका छन् । नेकपा एमाले सिध्याउने ध्याउन्नमा लागेको भनेर कटाक्ष गर्दै उनले अहिले मन्त्री पद बेच्न लागिएको टिप्पणी गरे । ‘एमालेलाई समाप्त पार्ने, मन्त्री पद बेच्न आएका छन् । पार्टीको पद बेच्न आइरहेका छन् । प्रदेशमा खान जन्मिएकाहरु हौ, खाउँ, नेकपा एमालेका कार्यकर्ता देश बनाउने सोच्छन् । खान जन्मेका होइनन्,’ उनले भने ।

एमाले अब २ जेठ २०७५ मा जस्ताको तस्तै नफर्कने अध्यक्ष ओलीले प्रष्टिकरण दिएका छन् । विगतमा माधव नेपालसंग लागेका तेस्रोे पक्षका नेताहरु १० बुँदे सहमति अनुरुप पार्टी २ जेठ २०७५मा फर्केको भन्दै एकताको पक्षमा लागेर अगाडि बढेका बेला अध्यक्ष ओलीले यस्तो प्रष्टिकरण दिएका हुन् । १० बुँदे सम्झौतालाई उपयोग गर्र्दै र स्वीकार गरेर अगाडि बढिएको उनको भनाई छ ।

पोखरामा मंगलबार एमाले कास्कीले आयोजना गरेको कार्यकर्ता भेलालाई संबोधन गर्दै उनले हिजो माधव नेपालसंग लागेर अहिले पार्टीमा रहेकाहरुलाई सजिलोसंग अप्ठ्यारो नमानी अगाडि बढ्न आग्रह गरेका छन् ।

‘असहज मनका साथ नचलौं । भारी मनका साथ नचलौं । कतिपय ठाउँमा विनासित्ति जेठ २ भनेर उचलिाएका पनि छन् । यो विरालो बाँधेजस्तो होइन । यो कसैसंगको पार्टीसंग गरिएको सम्झौता होइन’ उनले भने, ‘माधव नेपाललाई पनि रोक्नका लागि बनाइएको कार्यदलले गरेको सम्झौता हो । हामिले यसलाई उपयोग गरेका र्छौं । यसलाई हाउगुजीका रुपमा नलिनुहोस् । सक्रियताका साथ अगाडि बढौं ।’

  • २२ भाद्र २०७८, मंगलवार २०:२५ प्रकाशित