कांग्रेस पोखरा महानगर सभापतिमा ६ जनाको उम्मेद्वारी घोषणा

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत २७ भदौमा स्थानीय तहमा निर्वाचन हुँदैछ । पोखरा महानगरपालिकामा नेपाली कांग्रेसको नेतृत्व गर्न सोमबारसम्म ६ जनाले उम्मेद्वारी घोषणा गरेका छन् ।

गंगाधर पराजुली, रामराज लामिछाने, मोहनप्रसाद बास्तोला, सुरेन्द्रमान विजुक्छे, मिलन तिवारी र ज्योति हमालले महानगरको सभापतिमा उम्मेद्वारी घोषणा गरेका हुन् ।

कांग्रेस पोखरा महानगर सभापतिको लागि उम्मेद्वार घोषणा गर्ने गंगाधर पराजुली श्रमजीवि पत्रकारहरुको पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष, नेपाल प्रेस युनियन र नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय उपाध्यक्ष हुन् ।

रामराज लामिछाने नेपाली कांग्रेस कास्कीका पूर्व सचिव र हाल पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष हुन् । बास्तोला पोखरा महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष हुन् ।

विजुुक्छे हाल पोखरा महानगर समितिका उपसभापति हुन् । मिलन तिवारी उपभोक्ता अधिकारकर्मी हुन् भने ज्योति हमाल सञ्चारकर्मी हुन् ।

उम्मेद्वारी घोषणा गरेका सबै ६ जनाले नै पोखरा महानगरमा आफूहरुले नेपाली कांग्रेसको नेतृत्व गर्ने दाबी गरेका छन् ।

               गंगाधर पराजुली 

कांग्रेसको राजनीतिमा करिव चार दशक देखि निरन्तर सक्रिय गंगाधर पराजुलीलाई पत्रकारिता जगतमा प्रभावशाली व्यक्तित्वका रुपमा लिइन्छ । पत्रकारिता जगतमा करिब चार दशक काम गरेका पराजुली नेपाल प्रेस युनियन र नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष भएर पनि काम गरिसकेका छन् । साथै न्यूनतम पारिश्रमिक निर्धारण समिति नेपालको अध्यक्षसमेत भएर कार्यकाल पूरा गरेका पराजुली राष्ट्रिय समाचार समितिको सञ्चालक सदस्यसमेत बनेका थिए ।

            रामराज लामिछाने
कांग्रेसको १३ औं महाधिवेशनमा जिल्ला सचिव बनेका रामराज लामिछाने हाल पोखरा महानरपालिका वडा नं. ९ का वडाध्यक्ष हुन् । उनले नेपाल तरुण दलको जिल्ला सचिव, नेपाली कांग्रेस पोखरा ९ को सभापति भएर काम गरिसकेका छन् । २०३६ सालदेखि नेविसंघबाट राजनीति शुरु गरेका लामिछानेसँग तरुण दल हुँदै कास्की काँग्रेसको सचिव भएर काम गरेको अनुभव छ ।

         मोहनप्रसाद बास्तोला
हाल पोखरा महानगरपालिका वडा नम्बर ११का वडाध्यक्ष रहेका मोहनप्रसाद बास्तोला विद्यार्थी अवस्था देखि नेपाली कांग्रेसमा रहेर राजनीति गदै आएका छन् ।

            सुरेन्द्रमान विजुक्छे
हाल पोखरा महानगर कांग्रेसको उपसभापति रहेका सुरेन्द्रमान विजुक्छे २०४३ सालमै पोखरा नगर पंचायत वडा नम्बर २ को कांग्रेस सभापति भएर काम गरेका व्यक्ति हुन् । उनी तरुण दलको राजनीति गर्दै पोखरा नगर समितिमा कोषाध्यक्ष भएपछि हाल उपसभापति छन् ।

              मिलन तिवारी
तरुण दलको जिल्ला समितिमा १४ वर्ष काम गरेका मिलन तिवारी निरन्तर नेपाली कांग्रेसको राजनीतिमा छन् । उनी उपभोक्ता अधिकारकर्मी पनि हुन् ।

            ज्योती हमाल
स्कुलले जिवनदेखि निरन्तर राजनीतिमा रहेको बताउने ज्योती हमाल पत्रकारिता जगतमा डेढ दशक समय विताएकी छन् । हमाल नेपाल प्रेस युनियन काठमाडौंको कार्यकारी सदस्य, नेपाल प्रेस युनियन कास्कीको सहसचिव र क्रियाशिल महिला पत्रकार कास्कीको उपाध्यक्ष छन् ।

 

  • २१ भाद्र २०७८, सोमबार २२:४३ प्रकाशित