देशका पाँच वटा प्रदेशका केही स्थानमा भारी वर्षा, सतर्क रहन आग्रह

केन्द्रभाग मिडिया

पोखरा ।
हाल देशमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नम्बर १, प्रदेश नम्बर २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, वाग्मती तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

  • २१ भाद्र २०७८, सोमबार ०८:५४ प्रकाशित