कांग्रेसको वडा अधिवेशन आज, जिल्ला र केन्द्रका आकांक्षी दबाबमा

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेसले वडा इकाइ अधिवेशन आज गर्दैछ । अधिकांस वडाहरुमा आज हुने वडा इकाई अधिवेशनमा केन्द«मा देखिएको गुट अनुसारनै वडा तहमा समिकरण वनेका छन । जिल्लासम्मको नेतृत्व र महाधिवेशनमा सहभागी हुन पाउने महासमिति सदस्य चयन गर्नका लागि वडा अधिवेशनको निकै महत्व हुन्छ । वडा तहवाटै हराउने जिताउने खेल शुरु हुनेहुँदा आकांक्षीहरु चनाखो बन्दै वडा वडामा खटिएका छन् ।

कास्की कांग्रेस सभापति कृष्ण केसीका अनुसार वडा अधिवेशनमा समितिमा रहेका सबै क्रियाशील सदस्यले प्रत्यक्ष मतदान गरी समिति र प्रतिनिधि चयन गर्ने विधानमा व्यवस्था छ । वडा अधिवेशनले वडा कार्यसमिति, क्षेत्रीय प्रतिनिधि र नगर प्रतिनिधि चयन गर्नेछ । वडा समितिमा १ सभापति, २ उपसभापति, २ सचिव, २ सहसचिव र सदस्यहरु निर्वाचित हुनेछन् ।

कांग्रेसको विधान अनुसार १ सय ५० क्रियाशील सदस्य भएको वडा इकाइ समितिबाट १६ क्षेत्रीय अधिवेशन प्रतिनिधि चयन हुनेछन् । १ सय ५० माथि थप प्रत्येक १ सय क्रियाशील सदस्यबाट १० जनाका दरले क्षेत्रीय अधिवेशन प्रतिनिधि चयन हुने विधानमा व्यवस्था छ । जसअनुसार २ सय ५० भन्दा धेरै क्रियाशील सदस्य भएको इकाइले २६ जना, ३ सय ५० भन्दा बढी सदस्य भएको इकाइले ३६ जना क्षेत्रीय अधिवेशन प्रतिनिधि चयन गर्ने छन् । जति धेरै क्रियाशील सदस्य रहे पनि १ इकाइबाट ७६ जनाभन्दा बढी क्षेत्रीय प्रतिनिधि चयन गर्न पाइने छैन ।

यही वडा अधिवेशनबाट १ महिलासहित ३ जना नगर वा पालिका कार्यसमिति सदस्य निर्वाचित हुने छन् । वडा अधिवेशनपछि पालिकाको इकाइ नेतृत्व चयनका लागि निर्वाचन हुनेछ । पालिका समितिका लागि वडा समितिका सभापति, पालिका भित्रका वडा इकाइबाट चयन भएका क्षेत्रीय प्रतिनिधि र वडाबाट निर्वाचित पालिका कार्यसमितिका सदस्यले मतदान गर्ने छन् ।

पालिका अधिवेशनबाट २ जना अपांग क्षेत्रीय अधिवेशन प्रतिनिधि चयन हुनेछन् भने पालिका इकाई समितिका सभापति पदेन क्षेत्रीय अधिवेशन प्रतिनिधि हुनेछन् । यसपछि प्रदेश सभा क्षेत्रीय अधिवेशन हुनेछ ।

  • १८ भाद्र २०७८, शुक्रबार ०७:०९ प्रकाशित