खड्का, केसी र श्रेष्ठलाई कांग्रेसको साधारण सदस्यबाट समेत निलम्बन

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली कांग्रेसले पूर्वमन्त्री कुमार खड्का, कास्की कांग्रेसका पूर्वसभापति कृष्ण केसी र क्षेत्रीय सहसचिव भावना श्रेष्ठलाई कारबाही गरेको छ । उनीहरुलाई पार्टीको साधारण सदस्यबाट समेत निलम्बन  गरेको हो । पार्टीको केन्द्रीय अनुशासन आयोगले खड्कालाई एक वर्ष, केसीलाई ३ महिना र श्रेष्ठलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको हो ।

समितिका संयोजक आनन्दप्रसाद ढुंगानाद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै उनीहरूमाथि कारबाही गरिएको हो । सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि समितिले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा १ (क) र (ख) बमोजिम कारबाहीको निर्णय लिएको जनाएको छ ।

खड्कालाई २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारको विपक्षमा गतिविधि गरेको ठहर गर्दै कांग्रेसले उनलाई अनुशासनको कारबाही गरिएको हो ।

यसैगरी पूर्वसभापति केसीलाई पनि पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध लागेको आरोपमा कारबाही गरिएको हो । क्षेत्रीय सहसचिव भावना श्रेष्ठलाई पनि निर्वाचनमा उम्मेदवार विरुद्ध लागेको आरोपमा कारबाही गरिएको हो ।

समितिले खड्का, केसी र श्रेष्ठसँगै अन्य जिल्लाका नेता तथा कार्यकर्ताहरूलाई पनि कारबाही गरेको छ । चुनावमा अन्तर्घात गरेको आरोपमा तेह्रथुमका महासमिति सदस्य तुलसी सुब्बा,  लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङ जिल्लाका सभापति विश्वकुमार राई र पर्सा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्तालाई १ वर्षका लागि पार्टी सदस्यबाट निष्कासन गरिएको छ ।

त्यसैगरी, धनुषा, कैलाली लगायतका जिल्लाका अन्य नेता तथा कार्यकर्ताहरूलाई पनि ६ महिनासम्मका लागि निलम्बन गरिएको छ। अनुशासन समितिले २०८२ असार १ गतेदेखि १७ गतेसम्म बसेको बैठकले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पार्टी उम्मेदवारलाई पराजित गराउने मनशायले सामाजिक सञ्जाल, अडियो र भिडियो लगायतका माध्यमबाट असहयोग गर्नेहरूमाथि छानबिन गरी कारबाहीको निर्णय लिएको जनाएको छ ।

 

  • २५ असार २०८२, बुधबार २०:०१ प्रकाशित