पोखरा उद्योग वणिज्य संघमा नयाँ नेतृत्वका लागि आज निर्वाचन

दुई प्यानलसहित अध्यक्षमा चार जनाको प्रतिस्पर्धा

केन्द्रभाग मिडिया

पोखरा ।
पोखराको सबैभन्दा पुरानो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य संघको ३६ औं महाधिवेशन तथा ७२ औं वार्षिक साधारण सभा शनिबार सुरु भएको छ । अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सकिनेछ । संघको आगामी २ वर्षे कार्यकालका लागि अध्यक्षमा २ प्यानलसहित ४ जना प्रतिस्पर्धामा छन्।

अध्यक्षका लागि बलराम आचार्य र शोभा गौतमले प्यानलसहित प्रतिस्पर्धामा छन् भने उत्तममान बुद्धाचार्य र अर्जुन पोखरेल एकल उम्मेदवारी दर्ता गराएर मैदानमा छन् ।

संघको पदाधिकारीमा भने आचार्य र गौतमको प्यानलबीच मात्र प्रतिष्पर्धा हुँदैछ । वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला र टीकाराम सुवेदी प्रतिष्पर्धामा छन् । उद्योगतर्फको उपाध्यक्षका लागि ललितबहादुर कुवँर रसौगात थापाबीच प्रतिष्पर्धा हुँदै छ ।

वाणिज्यतर्फको उपाध्यक्षमा मनोजकुमार श्रेष्ठ र भीम गौतम उम्मेदवार छन् । महासचिवमासुदीप प्रधानाङ्ग र तारानाथ ढुंगाना प्रतिस्पर्धामा हुँदा कोषाध्यक्षमा देवेन्द्र प्रजु र जीवनप्रकाश श्रेष्ठ मैदानमा छन् ।

उपमहासचिवमा प्रदीप राजभण्डारी, यादवप्रसाद पोखरेल र रामचन्द्र तिमिल्सिनाले उम्मेदवारी दिएका छन् । खुल्ला सदस्यमा गोविन्दबहादुर केसी, मनोहरि पौडेल, नवीन नापित, एकनारायण गौतम, रामप्रसाद कँडेल, दुर्गा बराल, सूर्यराज घिमिरे (सुरेश), कमलबहादुर सुनार, अमृत पोखरेल, भानुभक्त अधिकारी, रामेश्वर अधिकारी, निर्मला चापागाईं, दिलीपकुमार श्रेष्ठ र हरिप्रसाद अधिकारीबीच प्रतिष्पर्धा हुँदैछ ।

निर्वाचन समितिका संयोजक दामु अधिकारीका अनुसार नयाँ नेतृत्वका लागि आइतबार बिहान ८ देखि साँझ ५ बजेसम्म मतदान हुने छ । निर्वाचनले अध्यक्षसहित १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । विसं २०११ मा अमृतप्रसाद शेरचनको अध्यक्षतामा स्थापना भएको यस संघमा हाल २ हजार ७ सय ३१ सदस्य आबद्ध छन् ।

 

  • २१ भाद्र २०८३, आईतवार ०८:१९ प्रकाशित