रासायनिक मलको मूल्य बढाउन कृषि मन्त्रीको प्रस्ताव

केन्द्रभाग मिडिया

काठमाडौं।

कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले मलको मूल्य बढाउन प्रस्ताव गरेका छन् ।

बुधवार प्रतिनिधिसभामा कृषि मन्त्रालयका सम्बन्धमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो प्रस्ताव गरेका हुन् । मन्त्री अधिकारीले यसका लागि सघाउन सांसदहरूलाई आग्रह समेत गरे ।

हाल नेपालमा अनुदानमा बिक्री हुँदै आएको रासायनिक मलमा औसत ६६ प्रतिशत अनुदान रहेको छ । मन्त्री अधिकारीका अनुसार अहिले युरिया, डीएपी र पोटास समेत गरी सो बराबरको अनुदान दिने गरिएको हो ।

अहिले युरिया मल किन्न सरकारलाई प्रतिकिलो ८२ रुपैयाँ रहेको छ, उक्त मल १४ रुपैयाँ प्रतिकिलोमा बिक्री हुँदै आएको छ । त्यस्तै, डीएपीको मूल्य १२१ रुपैयाँ रहेकोमा ४३ रुपैयाँमा बिक्री हुँदै आएको छ । त्यस्तै, पोटासको लागत प्रतिकिलो ६४ रुपैयाँ रहने गरेकोमा ३१ रुपैयाँमा बिक्री हुँदै आएको मन्त्री अधिकारीले जानकारी दिए ।

यस अनुसार सरकारले युरियामा ५८ रुपैयाँ, डीएपीमा ७८ रुपैयाँ र पोटासमा ३३ रुपैयाँ बराबरको अनुदान दिँदै आएको छ । सरकारले मल खरिदका लागि छुट्टाएको २७ अर्ब ३६ करोड रुपैयाँबाट सो बराबरको अनुदानका लागि पुग्ने मल बिक्री वितरण भइरहेको अधिकारीको भनाइ छ ।

यो वर्ष मात्रै सरकारले ३ लाख ८२ हजार मेट्रिकटन आयात गर्दै ४ लाख २४ हजार रुपैयाँ बिक्री गरेको मन्त्रालयले जनाएको छ । त्यसबाहेक ५२ हजार मेट्रिकटन युरिया र ३० हजार मेट्रिकटन डीएपी कोलकत्ता बन्दरगाहमा रहेको उल्लेख गरिएको छ ।

नेपालमा अहिले ९१ हजार मेट्रिकटन मल नेपामा मौज्दात रहेको दैनिक २० हजार क्विन्टल मल वितरण हुँदै गरेको उनले जानकारी दिए ।

अहिले चीनले बेलाबेलामा रासायनिक मलको निर्यात बन्द गर्नु र मध्यपूर्वमा देखिएको तनावका कारण मूल्य बढिरहेको भन्दै आपूर्ति व्यवस्थालाई सुचारु गर्न यसको मूल्य बढाउनुपर्ने उने प्रस्ताव गरे । उनले मूल्य उतारचढाव हुने कारणले पटक पटक टेन्डर प्रक्रिया अवरुद्ध हुने गरेको उनको अनुभव छ ।

अहिले कोलकत्ता नाकाको यार्ड सानो भएका कारण नेपालले वार्षिक ५ लाख मिट्रिकटन भन्दा धेरै मल ल्याउन नसक्ने अवस्था रहेकोले पनि आपूर्ति व्यवस्थामा असहज भएको उनको भनाइ छ । यसका लागि विशाखापटनमबाट थप मल ल्याउनुपर्ने उनको भनाइ छ ।

  • २५ असार २०८२, बुधबार १५:४६ प्रकाशित