अमेरिकाको मध्य टेक्सासमा भीषण बाढी : ज्यान गुमाउनेको संख्या ७८ पुग्यो, ४१ बेपत्ता

केन्द्रभाग मिडिया

टेक्सास ।

शुक्रबार आएको भीषण बाढीका कारण संयुक्त राज्य अमेरिकाको मध्य टेक्सासमा कम्तीमा ७८ जनाको ज्यान गएको पुष्टि भएको छ भने ४१ जना अझै बेपत्ता छन्।

ज्यान गुमाउने मध्ये ६८ जना केअर काउन्टीका रहेका छन्, जसमा २८ बालबालिका पनि समावेश छन्। यस काउन्टीमा एउटा नदी किनारमा रहेको क्रिश्चियन बालिका शिविर ९क्याम्प० बाढीले डुबेको थियो। क्याम्प मिस्टिकका १० बालिका र एक सल्लाहकार अझै बेपत्ता छन्।

अधिकारीहरूले मृत्यु हुनेको संख्या बढ्ने निश्चित रहेको बताएका छन्। आगामी २४(४८ घण्टामा यस क्षेत्रमा थप वर्षा हुने सम्भावना छ, जसले उद्धार कार्यमा बाधा पुर्‍याउन सक्छ। उद्धार टोलीहरूले हिलो र भग्नावशेषमा हराएका मानिसहरूको खोजी गर्दा विषालु सर्पहरूको पनि सामना गरिरहेका छन्।

बाढी आएको तीन दिनपछि, टेक्सासको हालको इतिहासमा सबैभन्दा ठूलो खोजी तथा उद्धार प्रयास अब शव सङ्कलन अभियानमा परिणत हुँदैछ। केअर काउन्टीमा फेला परेकामध्ये १८ वयस्क र १० बालबालिकाको अझै औपचारिक रूपमा पहिचान हुन बाँकी छ।

टेक्सासका गभर्नर ग्रेग एबोटले आइतबार अधिकारीहरूले हरेक बेपत्ता व्यक्तिलाई फेला पार्न ‘कुनै कसर नछोड्ने’ बताएका छन्।

  • २३ असार २०८२, सोमबार ११:३२ प्रकाशित