काठमाडौं ।
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसनले नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिने निर्णय गरेको छ ।
बुधबार मिलेनियम च्यालेञ्ज एकाउण्ट-नेपालले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । ‘अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुट अन्तर्गत एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिनका लागि अनुमति दिनेसम्बन्धमा अमेरिकी सरकारबाट भएको निर्णयको एमसीए– नेपालले स्वागत गरेको छ,’ उसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
तर, यो निर्णय कुन मितिमा भएको हो भन्ने विषयमा एमसीए नेपालले केही पनि उल्लेख गरेको छैन । यसअघि अमेरिकाले वैदेशिक सहायताबारे पुनस्मूल्यांकन गरिरहेकै अवस्थामा गत मार्चमा एमसीसीले नेपाललाई पत्र लेखी केही महत्वपूर्ण खरिद तथा कार्यालय सञ्चालन सम्बन्धी आवश्यक कार्यहरू गर्न अनुमति दिएको थियो । त्यसअनुसार एमसीसीले नेपालमा सञ्चलनमा रहेका परियोजनाको कार्यान्वयनलाई निरन्तरता दिई नै रहेको छ ।
यसअघि नेपालस्थित अमेरिकी दूतावासले एक विज्ञप्ति जारी गर्दै नेपाल कम्प्याक्टलाई निरन्तरता दिने आशय व्यक्त गरेको थियो ।एमसीसी कम्प्याक्टको कार्यान्वयन गरिरहेको एमसिए–नेपालले हालसम्म तीनवटा ४०० केभीका विद्युत् सबस्टेसन तथा १८ किलोमिटर ४०० केभी प्रसारण लाइनको ठेक्का लगाइसकेको छ ।
बाँकी २९७ किमि विद्युत् प्रसारण लाइन निर्माण तथा सडक मर्मत लगायतका कार्यसम्बन्धी खरिद प्रक्रिया सम्पन्न गर्नेसहितका कम्प्याक्ट क्रियाकलाप कार्यान्वयन गर्न मिलेनियम च्यालेञ्च कर्पोरेशन ९एमसीसी० सँग निकटतापूर्वक काम गरिरहेको एमसीए नेपालले जनाएको छ।














