ग्यास विस्फोट हुँदा १ को मृत्यु, १२ जना घाइते

केन्द्रभाग मिडिया

झापाको मेचीनगरमा ग्याँस विस्फोट हुँदा १ जनाको ज्यान गएको छ । आगलागीमा आगो निभाउने क्रममा सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको हो भने १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा मेचीनगर नपा-८ बस्ने ४५ वर्षीय सारद राजवंशी रहेका छन् ।

उनलाई उपचारको लागी एन्जल मेडिकल धुलाबारी लगेकोमा उक्त मेडिकलमा पुर्‍याउन साथ मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।बुधबार राति साढे ९ बजेको समयमा मेचीनगर नपा वडा नं। (७ पिपल चोक बस्ने केशव पाठकको १ तले कच्ची घरमा कोही नभएको अवस्थामा अचानक आगलागी भएको थियो ।

आगो निभाउने क्रममा उक्त घरमा रहेको ग्यास सिलिण्डर पड्कदाँ मानिसहरू घाइते हुन पुगेका थिए । घाइते हुनेहरूमा लेखनाथ तिमल्सिना, गोविन्द प्रसाद राजवंशी, दीपेन्द्र कार्की, चन्दन गौतम, सुवलाल राजवंशी, विनोद गिरि, नवराज श्रेष्ठ, सन्देश बोहरा, भवानी शंकर न्यौपाने, हरि वि.क., निर्मल शर्मा, सुशीला अधिकारी लगायत छन् । दमकल, प्रहरी र स्थानीयको सहयोगमा एक घण्टापछि आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

  • २२ पुष २०७८, बिहीबार ०८:३२ प्रकाशित