पोखरा ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा आफू र पत्नि आरजु देउवा राणाको हत्या गर्ने योजनावद्ध सड्यन्त्र भएको दाबी गरेका छन् । नेपाली कांग्रेस संस्थापन इतर (देउवा) पक्षको गण्डकी प्रदेश अधिवेशनको शनिबार पोखरामा उद्घाटन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले जेनजी आन्दोलनका नाममा ५० काटेकाहरुले आफूहरु माथि आक्रमण गरेको तर, जेनजी युवाहरुले बचाएको टिप्पणी गरे ।
देउवाले जेनजीको नाममा हिंसात्मक गतिविधिमा संलग्न भएका व्यक्तिहरूमाथि प्रश्न उठाएका छन् । ‘जेनजीले मलाई बचाएको हो । बच्चाहरूले बचाएका हुन् । फोटोमा देखिन्छ, हेर्नुस्,’ उनले भने, ‘जेनजीको नाममा ५० वर्ष पुगेका लाठै लाठा बोकेर हामीलाई पिट्नेहरू पनि थिए । धेरै ठूलो षड्यन्त्र थियो ।’
पूर्वप्रधानमन्त्री देउवाले २४ भदौ २०८२ मा आफ्नो निवासमा भएको आक्रमणलाई सामान्य घटना नभई आफूहरूलाई सिध्याउने योजनाबद्ध प्रयासका रूपमा भएको व्याख्या गरे । तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यकालमा राजनीतिक नेताहरूका घर, पार्टी कार्यालय र सार्वजनिक संरचनामाथि भएका आक्रमणलाई कांग्रेसविरुद्धको षड्यन्त्रका रूपमा बुझ्नुपर्ने उनको भनाई छ । आफ्ना परिवारसँग सम्बन्धित स्थानदेखि बीपी कोइरालाका परिवारको घरसम्म आक्रमण भएको उल्लेख गर्दै उनले घटनाको पछाडि संलग्न व्यक्तिहरू क्रमशः खुल्दै गएको दाबी समेत गरे ।
सम्बोधनका क्रममा देउवाले कांग्रेसभित्रको विशेष महाधिवेशनको वैधानिकतामाथि पनि प्रश्न उठाए । विधानले विशेष महाधिवेशनको व्यवस्था गरे पनि प्रतिनिधिको निर्वाचन, हस्ताक्षरको प्रमाणीकरण र सनाखतजस्ता प्रक्रिया अनिवार्य रूपमा पूरा हुनुपर्ने उनको तर्क थियो ।
विशेष महाधिवेशनका नाममा पार्टी कब्जा गर्ने षड्यन्त्र भएको आरोप लगाउँदै उनले सहभागी प्रतिनिधिहरूको वैधानिकता परीक्षण गर्नुपर्ने बताए । देउवाले अब आफूलाई व्यक्तिगत रूपमा केही प्राप्त गर्न बाँकी नरहेको उल्लेख गर्दै बाँकी जीवन लोकतन्त्र र गणतन्त्रको सुदृढीकरणमा लगाउने प्रतिबद्धता व्यक्त गरे ।
‘आफू पाँचपटक प्रधानमन्त्री भइसकेको स्मरण गर्दै उनले भने, ‘मलाई केही चाहिएको छैन, मैले पाइसकेको छु । पाँचपटक प्रधानमन्त्री भएँ, । देशलाई दिनुछ, राष्ट्रलाई दिनुछ, लोकतन्त्रलाई अझ मजबुत गर्नुछ, गणतन्त्रलाई अझ मजबुत गर्नुछ ।’













