पी यूमा छात्रवृत्ति कोटाका लागि ३७६१ विद्यार्थीले परीक्षा दिँदै

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा विश्वविद्यालयको स्नातक तह छात्रवृत्ति २०७८ अन्तर्गत विभिन्न संकायको कुल ११५६ सिट छात्रवृत्ति कोटाका लागि ३७६१ जना विद्यार्थीले परीक्षा दिने भएका छन् ।

भोलि र पर्सि हुने छात्रवृत्ति परीक्षाका लागि विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गतका ३ वटा कार्यक्रममा ४१ सिटका लागि २८ जना, व्यवस्थापन संकायअन्तर्गतका ६ वटा कार्यक्रममा ६६८ सिटका लागि १३३१ जना र विज्ञान तथा प्रविधि संकायअन्तर्गतका ११ वटा कार्यक्रममा ४४७ सिटका लागि कुल २४०२ जना विद्यार्थीहरू परीक्षामा सहभागि हुँदैछन् ।

छात्रवृत्ति परीक्षा विश्वविद्यालयको प्राज्ञिक भवन कम्प्लेक्स, त्रिभुवन शान्ति नमूना माध्यामिक विद्यालय र गोल्डेन नेचर बोर्डिङ्ग स्कूल, पोखरा–३०, खुदी, ढुंगेपाटनमा सञ्चालन हुँदैछ ।
विश्वविद्यालयमा सञ्चालित स्वास्थ्य विज्ञान संकायका कार्यक्रममा भने अघिल्लो वर्षदेखि चिकित्सा शिक्षा आयोगले परीक्षा लिँदै आएको छ ।
नेपाल भरिबाटै छात्रवृत्ति परीक्षा दिने हजारौं विद्यार्थीहरूको आगमनले पोखराको आन्तरिक पर्यटन र व्यवसायलाई ठूलो सहयोग पुग्दै आएको छ । पोखरा विश्वविद्यालय नेपालको सबैभन्दा बढि छात्रवृत्ति दिने विश्वविद्यालयको रूपमा चिनिदै आएको छ ।
गत वर्षमात्रै विश्वविद्यालयले स्नातकतह र स्नातकोत्तर तहका कार्यक्रममा गरी कुल ११९५ जना विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति प्रदान गरेको थियो ।

विश्वविद्यालयले खुला, स्थानीय, दलित, जनजाति, दुर्गम, अपाङ्ग, शहीद तथा जनआन्दोलन घाइते पीडित, शिक्षक कर्मचारी सन्तति र मधेशी समूदायमा लक्षित छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

  • २१ पुष २०७८, बुधबार १०:१४ प्रकाशित