काठमाडौं ।
आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजमा आइतबार नेपाल स्कटल्याण्डसंग २ रनले पराजित भएको छ । स्कटल्यान्डमा जारी खेलमा घरेलु टोलीसँग २ रनको हार वेहोर्दा अहिलेसम्मकै आफ्नो धेरै स्कोर बनाएर नयाँ बेन्चमार्क बनाएको छ ।
स्कटल्यान्डले दिएको ३२४ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ३२१ रन बनाउँदा अलआउट भयो । सिरिजको पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई १ विकेटले पराजित गरेको थियो ।
जारी सिरिजमा नेपालले पहिलो हार व्यहोर्दा पनि आफ्नो ओडीआई यात्रामा सर्वाधिक रन बनाएर इतिहास रच्न सफल भयो ।
नेपालका लागि भिम सार्की, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले उत्कृष्ट अर्धशतक बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । भिम ७३, सोमपाल ६७ र दीपेन्द्र ५६ रनमा आउट भए । आरिफ शेखले ३९ रनको योगदान दिए । ३४ रन जोड्दा ३ विकेट गुमाएको नेपालको इनिङ आरिफ र भिमले उकासेका थिए ।
त्यसपछि पनि लगातार उत्कृष्ट साझेदारी हुँदा नेपाल जित नजिक पुगेको थियो । सातौं विकेटका लागि दीपेन्द्र र सोमपालले सतकीय साझेदारी गरेका थिए । तर, फिनिसिङमा चुक्दा नेपालले हार बेहोर्नुपर्यो ।
अन्तिम ओभरमा सम्हालिन नसक्दा नेपाल ऐतिहासिक जित नजिक पुगेर हार बेहोर्नुपर्यो । अन्तिम ओभरमा नेपाललाई जितका लागि ७ रन आवश्यक थियो । पहिलो बलमा २ रन ल्याएका करण दोस्रो बलमा कुनै पनि रन जोड्न सकेनन् र तेस्रो बलमा क्याच आउट हुन पुगे। अन्तिम ३ बलमा नेपाललाई ५ रन आवश्यक थियो । चौथो र पाँचौ बलमा एकएक रन जोडेपनि अन्तिम ओभरमा आउट हुने पुगे ।
यसअघि घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३२३ रन बनाउदै विशाल लक्ष्य खडा गरेको थियो । स्कटल्याण्डका कप्तान रिची बेरिंटनले शतक प्रहार गरे ।
उनले ११४ बलमा ६ चौका र ४ चौका प्रहार गरे । चार्ली टियरले ६८ र माइकल लिस्कले अविजित ९६ रनको योगदान दिए ।बलिङमा नेपालका करण केसी र दीपेन्द्रसिंह ऐरीले दुईरदुई र ललित राजवंशीले एक विकेट लिए । सिरिजअन्तर्गत नेपालले अब मंगलबार नेदरल्याण्ड्ससँग खेल्नेछ ।















