भारी वर्षा र पहिरोका कारण सिक्किममा १५०० पर्यटक अलपत्र

केन्द्रभाग मिडिया

नयाँ दिल्ली ।

गएको शुक्रबारदेखि नै निरन्तर भारी वर्षा र पहिरोका कारण उत्तरी सिक्किमको अधिकांश क्षेत्रबाट सम्पर्क टुटेको छ । अधिकांश सडकहरू बन्द हुँदा यस क्षेत्रमा आवागमन ठप्प भएको छ । पहिरोको कारण झन्डै १५ सय पर्यटक यहाँ फसेका छन् ।

अलपत्र परेका पर्यटकहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास भइरहेको छ । तर खराब मौसमले यस कार्यमा बाधा पुर्‍याइरहेको छ । ‘लाचेनमा ११५ र लाचुङमा १ हजार ३५० पर्यटक फसेका छन् । पहिरोका कारण त्यहाँबाट निस्कने बाटो अवरुद्ध भएको छ । पर्यटकहरूलाई होटलमै बस्न सल्लाह दिइएको छ । बाटो खुलेपछि उनीहरूलाई त्यहाँबाट निकालिनेछ ।’

प्रहरीका अनुसार निरन्तर वर्षाका कारण टिस्टा नदीमा पानीको सतह पनि खतराको चिन्ह नजिक पुगेको छ । बढ्दो पानीको सतहका कारण मंगनलाई चुङथाङसँग जोड्ने बेली ब्रिज आंशिक रूपमा क्षतिग्रस्त भएको छ ।

शनिबार उक्त क्षेत्रमा करिब तीन घण्टासम्म रेड अलर्ट जारी गरिएको थियो । मानिसहरूलाई घरभित्रै बस्न सल्लाह दिइएको थियो । उत्तर सिक्किमका अधिकांश क्षेत्रमा बिजुली आपूर्ति पनि बन्द गरिएको छ ।

प्रशासनले हाल उत्तर सिक्किमका लागि जारी गरिएका अनुमतिपत्रहरूमा प्रतिबन्ध लगाएको छ । अर्कोतर्फ, मुन्सिथाङ क्षेत्रमा पर्यटक सवार कार नदीमा खसेपछि सवार ११ जना मध्ये नौ जना बेपत्ता छन् ।

  • १८ जेष्ठ २०८२, आईतवार १३:०४ प्रकाशित