काठमाडौँ ।
सरकारले घरपालुवा जनावर कुकुर र बिरालोले खाने बस्तुमा १० प्रतिशत अन्तःशुल्क वृद्धि गरेको छ । बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको बजेट मार्फत ल्याएको आर्थिक ऐनमार्फत उक्त वस्तुमा अन्तःशुल्क वृद्धि गरेका हुन् ।
चालु आर्थिक वर्ष २०८१/८२ मा घरपालुवा जनावर कुकुर र बिरालोले १० प्रतिशत मात्रै अन्तःशुल्क लाग्ने गरेकोमा आगामी आर्थिक वर्षमा विदेशबाट आयात गर्दा २० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरिएको छ ।
नेपालमा हरेक वर्ष ३ अर्ब रुपैयाँ भन्दा बढीको घरपालुवा जनावर कुकुर र बिरालोको खाना आयात हुने गरेको छ । त्यस्तै, सरकारले सिमेन्टमा ५ प्रतिशत अन्तःशुल्क लगाएको छ । प्रति मेट्रिक टन २२० रुपैयाँ रहेको अन्तःशुल्क बढाएर अब ५ प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरेको छ ।
पोर्टल्याण्ड सिमेन्ट, आलुमिनस सिमेन्ट, स्लयाग सिमेन्ट, सुपर सल्फेट सिमेन्ट सबैमा ५ प्रतिशत अन्तःशुल्क लिने व्यवस्था गरेको छ । प्रति मेट्रिक टन २२० रुपैयाँ प्रति मेट्रिक टन अन्तःशुल्क हुँदा प्रतिबोरा ११ रुपैयाँ रहेकोमा अब बढाएर ५ प्रतिशत अन्तःशुल्क लगाउने भएका हुन् ।
त्यस्तै भेप, इलेक्ट्रिक सिगरेट, हुक्का फ्लेभर पान मसला, माउथ फ्रेसनरमा पनि स्वास्थ्य जोखिम कर लगाएको छ । हालसम्म बिँडीमा प्रतिखिल्ली तीस पैसा र चुरोट, सिगारमा प्रतिखिल्ली साठी पैसा लाग्दै आएकामा इलेक्ट्रिक सिगरेट, भेप, खाने सुर्ती, खैनी, गुट्खा, पान मसला, सुगन्धित सुपारी, माउथ फ्रेसनर र हुक्का फ्लेवरमा यस्तो कर लाग्नेछ ।















