‘घुस डिल’ काण्ड : गण्डकीका पूर्वमन्त्री पाण्डे र उनका स्वकीय सचिवलाई कारबाहीको सिफारिस

केन्द्रभाग मिडिया

पोखरा ।

आफ्नो पार्टीबाट गण्डकी प्रदेशको मन्त्री बनेका एक पूर्वमन्त्री र उनका स्वकीय सचिवलाई घुस डिल गरेको आरोपमा कारबाही गर्न एमाले गण्डकी प्रदेश संसदीय समितिले गठन गरेको छानविन समितिले सिफारिस गरेको छ । पूर्वस्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डेले पोखरास्थित पद्म नर्सिङ होमलाई १ सय शय्या्को अनुमति दिने क्रममा ३० लाख रुपैयाँ ‘घुस डिल’ गरेको आरोप लागेपछि छानविन गर्न बनेको समितिले एमाले प्रदेस संसदीय दललाई कारबाहीका लागि सिफारिस गरेको हो ।

संसदीय दलले प्रमुख सचेतक देवका पहारी त्रिपाठीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको थियो । आफूहरुले अध्ययन प्रतिवेदन तयार पारी संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री खगराज अधिकारी र एमाले गण्डकीका अध्यक्ष नवराज शर्मालाई बुझाउँदै कारबाहीको सिफारिस गरेको प्रमुख सचेतक देवका पहारी त्रिपाठीले जानकारी दिइन् ।

उनले पूर्वमन्त्री पाण्डे र उनका स्वकीय सचिवले पदीय मर्यादाविपरीत गलत काम गरेको निष्कर्षसहित कारबाही सिफारिस गरिएको बताइन् ।

‘दोष के कति भन्ने गहिरो छानविनको विषय रहला तर, उहाँहरुले गरेको काम पदीय मर्यादा विपरीत गरेको देखियो । त्यसैले कारबाहीको सिफारिस गरेका हौं’ उनले भनिन् ।

समितिको प्रतिवेदनमा पूर्वमन्त्री पाण्डे र उनका स्वकीय सचिव पौडेल एमाले पार्टी विधानको धारा ८४ को ‘छ’ र ‘ञ’ विपरीतका क्रियाकलापमा संलग्न रहेको उल्लेख छ । साथै, प्रदेशसभा संसदीय दलको विधान २०८० को धारा २७ तथा मन्त्री बन्नुअघि हस्ताक्षर गरिएको आचारसंहितासमेत उल्लंघन गरेकाले उनीहरूमाथि कडा कारबाही गर्न सिफारिस गरिएको छ ।

समितिले मन्त्री छनोट गर्दा सम्बन्धित व्यक्तिको आचरण, कार्यशैली र पृष्ठभूमिमा विशेष ध्यान दिन संसदीय दललाई सुझाव दिएको छ ।

यस्तै, मन्त्रीका सचिवालय सदस्यहरूको नियुक्तिमा पार्टीको प्रदेश कमिटीको सिफारिस र अनुगमन अनिवार्य गरिनुपर्ने, निर्णयहरूको गोपनीयता कायम राख्नुपर्ने र भेटघाटका क्रममा आसपासका मानिसहरूबारे सचेत रहनुपर्ने प्रतिवेदनमा उल्लेख छ । पद्म नर्सिङ होमसँग ३० लाख रुपैयाँको घुस डिल गरेको विषय सञ्चारमाध्यममार्फत सार्वजनिक भएको थियो ।

  • २ कार्तिक २०८३, आईतवार ११:२८ प्रकाशित