भारत–पाकिस्तान युद्धविराम : बन्द भएका सबै विमानस्थल खोलियो

केन्द्रभाग मिडिया

नयाँ दिल्ली ।

भारत–पाकिस्तान युद्धविरामपछि सोमबार सबै बन्द विमानस्थलहरू खोलिएका छन् । मे ७ मा भारत–पाकिस्तान तनावका बिचमा यी विमानस्थलहरू मे १५ बिहान ५ : २९ बजेसम्म अस्थायी रूपमा बन्द गरिएका थिए ।

नागरिक विमान सञ्चालनका लागि बन्द गरिएका ३२ विमानस्थलहरू अब तत्काल नागरिक विमान सञ्चालनका लागि उपलब्ध हुने भारतीय विमानस्थल प्राधिकरणले एक प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ ।

विज्ञप्तिमा यात्रुहरूलाई यी विमानस्थलहरूमा उडानहरूको लागि पहिले सम्बन्धित एयरलाइन्सबाट जानकारी लिन र नियमित अपडेटको लागि सम्बन्धित एयरलाइन्सको वेबसाइटमा जान सल्लाह दिइएको छ ।

इन्डिगो एयरलाइन्सले सामाजिक सञ्जाल प्लेटफर्म एक्सममा यसबारे जानकारी दिएको छ । कम्पनीले ट्राभल एड्भाइजरी जारी गर्दै सबै विमानस्थलहरू नागरिक उडानहरूका लागि खोलिएको लेखेको छ ।

सेवाहरू सामान्य हुन केही समय लाग्न सक्ने कम्पनीले विज्ञप्तिमा बताएको छ । यस्तो अवस्थामा एयरलाइन्सले यात्रुहरूलाई केही अतिरिक्त समयसहित एयरपोर्ट पुग्न भनेको छ ।

  • २९ बैशाख २०८२, सोमबार १४:०० प्रकाशित