पोखरा ।
महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को आयोजनामा पोखरामा डिजिटल मार्केटिङ र अनलाइन बुकिङ प्रणाली तथा व्यवसायीक कानुनी पक्ष लगायतका विषयमा तालिम सुरु भएको छ । तीन दिनसम्म चल्ने उक्त तालिमको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणिराज लामिछानेले एक कार्यक्रमका बीच मंगलबार उद्घाटन गरेका हुन् ।
तालिम उद्घाटनका अवसरमा बोल्दै उनले तालिमले पर्यटकीय राजधानी पोखरामा नयाँ रौनक ल्याउने अपेक्षा प्रकट गरे । अहिलेको युग डिजिटल युग रहेको भन्दै आफ्नो उत्पादन वा सेवालाई एकसाथ धेरैभन्दा धेरै ठाउँमा उजागर गर्न डिजिटल माध्यम उपयोगी र सशक्त माध्यम रहेको बताए ।

उनले नेपाल पर्यटन बोर्डले पर्यट प्रर्वद्धनका साथै प्रर्वद्धनका सिपका लागि पनि व्यवसायीक संघसंस्थाहरुसंग हातेमालो गरिरहेको जानकारी दिए । पोखरामा रहेका पर्यटन व्यवसायीका संघ संस्था र पर्यटन बोर्डले मिलेर प्रर्वद्धनात्मक कार्यक्रम गरिरहेको स्मरण गराएका उनले बोर्ड र व्यवसायीले सहकार्य गरेरै अगाडि बढ्ने बताए ।
पोखरा भ्रमण वर्ष २०२५ का संयोजक एवं पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष गोपीबहादुर भट्टराईले व्यवसायीहरु अहिलेको प्रविधिमा पोख्त नहुने हो भने पछि पर्ने बताए । पोखराको अन्तर्राष्ट्रिय सम्बन्ध र पहुँच बढिरहेको चर्चा गरेका उनले प्रविधिको बारेमा धेरैभन्दा धेरै जानकारी र व्यवहारिक प्रयोग हुनुपर्नेमा जोड दिए ।

तालिमले सेवामा गुणस्तर ल्याउने र पर्यटन क्षेत्र अझै चलायमान गराउन सहयोग पुग्ने उनले अपेक्षा प्रकट गरे । पोखरा देशकै पर्यटकीय राजधानी बनेको, पोखरा महानगरपालिकाले पोखरा भ्रमण वर्ष २०२५ घोषणा गरे विभिन्न कार्यक्रमको आयोजना गरिरहेको चर्चा गरेका उनले पर्यटन महिला व्यवसायीको सक्रियताको प्रसंशा गरे । उनले तालिम फलदायी बन्ने बताए ।
पोखरा पर्यटन परिषदका उपाध्यक्ष हरि भुजेलले तालिमले नयाँ तरिकाले व्यवसायलाई अगाडि बढाउन मद्दत पुग्ने बताए । उनले उद्यमीले आफूलाई मात्र नभएर धेरैलाई आत्मनिर्भर बन्न सहयोग पुर्याउने बताए । परम्परागत ढंगले गरिएको व्यवसायलाई आधुनिकढंगले अगाडि बढाउने र त्यसको ब्रान्डिङ गर्न यो तालिम फदायी बन्ने उनले धारणा राखे । सिप सिकेपछिको जहाँ गएरपनि उपयोग गर्न पाइने बताएका उनले भारतीयले नेपालीको कपाल काटेरै धेरै पैसा कमाइरहेको उदाहरण दिए ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरामा पर्यटन पूर्वाधारमा भएको लगानी अनुरुप प्रतिफल लिन नसकिरहेको बेला तालिमले नयाँ आयाम थप्ने विश्वास प्रकट गरे । भइरहेको कुरालाई राम्रोसंग प्रचार गर्न नसकिरहेको बेला यस्ता तालिमले स्वयम तालिममा सहभागीलाई मात्र नभएर समग्र पर्यटन व्यवसायमै सकारात्मक प्रभाव पार्ने उनको भनाई थियो । उनले महिला पर्यटन व्यवसायीको सक्रियताले समग्र पोखरा र यस वरपरकै पर्यटन प्रर्वद्धनमा सहयोग पुगेको धारणा राखे ।
महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) का अध्यक्ष उमा रेग्मी भण्डारीले तालिमका बारेमा जानकारी दिँदै महिला उद्यमसिलताको यात्रा सजिलो नरहेको बताइन् । उनले डिजिटल माध्यमको सहि उपयोग, आर्थिक ज्ञान र वित्तिय साक्षरताका लागि यो तालिम निकै उपयोगी बन्ने अपेक्षा प्रकट गरिन् ।
तालिम संयोजक एवं महासचिव लक्ष्मी लामिछानेका अनुसार दुई दिनसम्म पोखरामा र तेस्रो दिन अन्तरजिल्ला भ्रमणसहितको प्राक्टिकल हुने तालिममा ६० जना महिला पर्यटन व्यवसायीको सहभागीता छ ।
तालिमममा अग्रज पर्यटन व्यवसायी एवं नेपाल पर्यटन बोर्डका पूर्व बोर्ड सदस्य बाशु त्रिपाठीले गण्डकीमा पर्यटनको अवस्था, अवसर र चुनौती सम्बन्धी प्रशिक्षण दिएका छन् । पर्यटन विज्ञ दीपेन्द्र पहारीले व्यवसाय व्यवस्थापन र वित्तिय साक्षरता एवं व्यवसायका कानुनी पक्षहरुका बारेमा, नेपाल पर्यटन बोर्ड गण्डकीका प्रबन्धक युवराज गुरुङले प्रस्तावना लेखन र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बसन्त शर्माले साइबर क्राइम र त्यसबाट बच्ने उपायको बारेमा प्रशिक्षण दिनेछन् ।















