पोखरा ।
गृहमन्त्री रमेश लेखकले सरकार अहिले कुनैपनि विषयले संकटमा नरहेको दाबी गरेका छन् । प्रेस युनियन कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले गभर्नर नियुक्ति वा अन्य कुनैपनि विषयले सरकार संकटमा नरहेको बताए । गृहमन्त्री लेखकले भागबण्डा भन्दापनि योग्य मान्छेलाई नै गभर्नर छनोट गरिने चर्चा गर्दै गभर्नर नियुक्तिदेखि सबै कुरामा सत्तारुढ दलहरुसंग आवश्यक छलफल गरेर निर्णय गर्ने बताए । ‘भागबण्डाको कुरा छैन । योग्य मान्छेलाई नै छनोट गर्ने हो । यसका लागि सरकारले आवश्यक छलफल गरेर निर्णय गर्छ,’ उनले भने, ‘गर्भनरका कुराले या अर्को कुनै कुराले सरकारमा संकट उत्पन्न भएको पनि छैन ।’
विपक्षी दलले सरकार ढल्छ भन्दै हिँडेकाले त्यो कुराको सरकारले प्रतिवाद गरिसकेको उनको भनाई छ । ‘सरकार परिवर्तनको कुनै आधार नै छैन । प्रतिपक्षी दलले सरकार ढल्छ भन्दै हिँडेकाले त्यसको प्रतिवाद सरकारले गरिसकेको छ ’ उनले भने ।
गृहमन्त्री लेखकले संविधान संशोधानका लागि दुई दलबीचमा संयुक्त समिति बनाउने सहमति भइसकेको भन्दै समितिमा रहने संख्याबारे दुई दल सहमति नजिक पुगेको दाबी गरे ।
शिक्षकहरुको माग उचित ढंगले सम्बोधन गरेर निष्कर्षमा पुग्ने गृहमन्त्री लेखकको भनाइ छ । यसअघि भएको सहमतिअनुसार ऐन निर्माण गरेर आवश्यक निर्णय गरिने उनले स्पष्ट पारेका छन् । शिक्षकका माग महत्वपूर्ण रहेको चर्चा गरेका उनले पूर्ववर्ती अवस्थामा जे सहमति भएका थिए, त्यसअनुसार ऐन बनाउने, आवश्यक निर्णय गरेर अगाडि बढ्ने बताए ।
९ महिने सरकारमा रहिरहँदा आफूले नीतिगत र कानुनी सुधार गरेको मन्त्री लेखकले दाबी गरे । ७० वर्षअघिको प्रहरी ऐन, २०१२ ले काम चलाइरहेको अवस्थामा प्रहरी समायोजनको काम भइरहेको उनले बताए ।
तीनकुने प्रदर्शनमा ज्यान गुमाएका २ जना मृतकका परिवारलाई सरकारले राहत स्वरूप १०/१० लाख दिएको र परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्ने बताउँदै घाइतेको निशुल्क उपचार गरिरहेको उनले जानकारी दिए ।














