काठमाडौं ।
भारतको दिल्ली पछि दोश्रो प्रदुषित शहर काठमाडौं बनेको छ । पछिल्लो दिनमा काठमाडौंको वायु प्रदूषण उच्च तहमा पुगेको हो । वातावरण विभागका अनुसार काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थकरको तहमा पुगेको छ । काठमाडौं सोमबार र मंगलबार लगातार संसारकै प्रदूषित सहर बनेको थियो । बुधबार झन् वायु प्रदूषण बढेको छ ।
आईक्यूएयरको तथ्यांक अनुसार आज बिहान काठमाडौंको औसत एयर क्वालिटी इन्डेक्स (एक्युआई) रौंभन्दा तीन गुणा मसिना धुलो धुवाँका कण प्रतिघण्टा २६८ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ । मंगलबार २२५ मापन भएको थियो ।
पहिलो स्थानमा रहेका दिल्लीमा बिहान ३३६ प्रतिघण्टा २६१ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ । जबकि १०१ देखि १५० लाई नै संवेशनशील समूहका लागि अस्वस्थ मानिन्छ । १५१ देखि २०० सम्मलाई अस्वस्थ, २०१ देखि ३०० सम्मलाई निकै अस्वस्थ र ३०१ भन्दा माथि मापन भए खतरनाक तह पुगेको मानिन्छ । यसअनुसार काठमाडौं निकै अस्वस्थको तहमा छ भने दिल्ली खतराको तहमा पुगेको छ ।
पछिल्लो एक सातादेखि काठमाडौंलगायत देशका मुख्य सहरहरुमा हावा प्रदूषण बढेको छ । प्रदूषण बढेपछि विभागले सूचना जारी गर्दै विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वासमा समस्या भएका व्यक्तिहरु, मुटुका बिरामी, गर्भवतीहरुलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।














