पोखरा ।
भोटेकोशी र त्रिशुलीमा आएको बाढीको कारण देशमा उत्पन्न वर्तमान विपद् परिस्थितिलाई मध्यनजर गर्दै गण्डकी मेडिकल कलेज पोखराले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ जम्मा गरेको छ ।
गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा प्रसाद आर्यालका अनुसार नगद सहयोगका अतिरिक्त विपद्बाट प्रभावित नागरिकको निःशुल्क उपचारका लागि गण्डकी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारको व्यवस्था गरिएको छ। अध्यक्ष अर्यालले कलेजले प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्नुका साथै बाढी तथा अन्य विपद्बाट प्रभावित क्षेत्रमा आवश्यक औषधिसमेत पठाउँदै आएको जनाएका छन्।
देशमा परेको विपद्को कठिन परिस्थितिमा सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै मानवीय सेवामा निरन्तर सक्रिय रहेको कलेजले जनाएको छ।
कलेज प्रशासनका अनुसार उक्त सहयोग रकम गण्डकी मेडिकल कलेजका सञ्चालक रमेश शर्मा र संजीवनी ग्रुपका सीएफओ राजु बस्नेतले अर्थमन्त्री डा। स्वर्णिम अग्रवाललाई हस्तान्तरण गरेका हुन् ।











