हाजिर बिनै गण्डकी प्रदेश प्रमुख भट्टका छोरालाई सहसचिव सरहको सुविधा !

'यस्तै प्रवृत्तिले हो लोकतन्त्रलाई कमजोर बनाउने र सुशासनको धज्जी उडाउने'

गोविन्द सुवेदी

पोखरा ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टका प्रमुख स्वकीय सचिव ज्योति भट्टले कार्यालयमा हाजिर नै नगरी पारिश्रमिक बुझेका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टका सहोदर छोरा ज्योतिले कार्यालयमा हाजिर नै नगरी प्रमुख स्वकीय सचिवले पाउने सह–सचिवले पाउने सरहको सेवा सुविधा लिएका हुन् । उनले एक वर्षसम्म कार्यालयमा हाजिर नै नगरी तलब बुझेका छन् । प्रदेश प्रमुख भट्ट नियुक्ती भएलगत्तै प्रमुख स्वकीय सचिवको नियुक्ती लिएका उनले गत फागुन महिनासम्मको तलब हाजिर बिना नै लिएको पुष्टि भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको कार्यालयमा कार्यकारी निर्देशक (एक्जुकेटिभ डाइरेक्टर) पदमा कार्यरत उनले हाजिर नै नभई प्रमुख स्वकीय सचिवले लिने तलवसहितका सुविधा लिएको भन्दै खख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा उजुरी परेपछि उनले हाजिर नै नगरी पारिश्रमिक लिएको खुलाशा भएको हो । साथै उनले नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशमा कार्यकारी निर्देशक भएर सोही समयमा त्यहाँ लिने सुविधा हाजिर भएरै लिएका छन् ।

गण्डकी प्रदेश प्रमुखको कार्यालयलेपनि उनले हाजिर नै नगरी पारिश्रमिक बुझेको पुष्टि गरेको छ । प्रदेश प्रमुख कार्यालयका सचिव बद्रीनाथ अधिकारीले कार्यालयको तर्फबाट हाजिरी रजिष्टर पठाउँदा आफू स्थायी, अस्थायी वा करारको कर्मचारी नभएकाले हाजिर गर्नु पर्दैन भन्ने जवाफ आएको र निजी सचिवालयले नै यति दिन काम गरेको भनेर प्रमाणित गर्ने गरेकोे जानकारी दिए । ‘हामीले नियमित हाजिरका लागि हाजिर कपी पठाएका हौं । उहाँले आफू स्थायी, अस्थायी वा करारको कर्मचारी नभएकाले हाजिर गर्नुपर्दैन भन्ने कूरा आयो । पछि अख्तियारबाट हाजिरी खोजेपछि हामीले सोधपुछ गर्यौं । उहाँको नियमित हाजिरी छैन । हामीले यही कूरा अख्तियार कार्यालयमा लेखि पठाएका र्छौं’ उनले भने ।

यता नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमका अध्यक्ष शंकरबहादुर बोगटीले प्रदेश प्रमुख भट्टका छोरा ज्योति भट्ट महासंघ सुदूरपश्चिमको कार्यालयमा निरन्तर काममा रहेको पुष्टि गरे । महासंघको प्रदेश संरचना निर्माण भएको केही समयदेखि निरन्तर प्रदेश कार्यालयको कर्मचारीको रुपमा कार्यरत रहेको उनले बताए । ‘ठ्याक्कै कुन मिति भन्ने मलाई याद भएन । गण्डकी प्रदेश प्रमुखको छोरा ज्योति भट्ट हाम्रो कार्यालयमा एक्जुकेटिभ डाइरेक्टरको रुपमा कार्यरत हुनुहुन्छ । उहाँ प्रदेश स्थापना भएको केही समय पछि निरन्तर कार्यालयको कर्मचारी हो । मैले नै यो तेस्रो कार्यकाल महासंघ प्रदेशको अध्यक्ष भएर काम गरिरहेको छु । उहाँ हामीसंग हुनुहुन्छ’ उनले भने ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले यही ३ चैतमा प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाउँदै प्रदेश प्रमुख डिल्लीराज भट्टका प्रमुख स्वकीय सचिव ज्योति भट्ट र उपस्वकीय सचिव कुमार तामाङले प्रदेश प्रमुखको कार्यालयबाट बिना हाजिर तल भत्ता लिएको र प्रदेश प्रमुखको भैसेंपाटी ललितपुरमा रहेको निजी निवासमा विगत १० महिना देखि विभिन्न व्यक्तिहरुलाई बस्न दिएर प्रदेश प्रमुखको छोराले घरबाट भाडा उठाएको भन्ने उजुरी परेको र सो सम्बन्धमा पत्र प्राप्त भएको १५ दिन भित्र राय प्रतिक्रिया सहित प्रमाणित कागजात उपलब्ध गराउन पत्र काटेको थियो ।

सोही पत्रलाई आधार मानेर प्रदेश प्रमुखको कार्यालयले प्रदेश प्रमुख भट्टका छोरा ज्योति र उपस्वकीय सचिव तामाङले लिएको पारिश्रमिकको पे–रोलसहितको विवरण उल्लेख गरेर अख्तियारमा जवाफ पठाएको छ ।

ज्योति भट्ट भन्छन्, ‘हाजिर नगरेको सत्य हो, तर म विरुद्ध अनर्गल आरोप लगाइयो’

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टका प्रमुख स्वकीय सचिव ( १ चैत देखि लागु हुनेगरी राजिनामा दिएका) ज्योति भट्टले आफू स्थायी, अस्थायी वा करारको कर्मचारी नभएकाले हाजिर नगरेको बताए । ‘म स्थायी, अस्थायी वा करारको कर्मचारी होइन । त्यसैले पहिलेकै अभ्यास अनुरुप हाजिर नगरेको हो । ’ उनले भने, ‘जहाँसम्म दोहोरो सुविधाको कुरा छ, मैले उद्योग वाणिज्य संघमा जागिर खाएको हो । राज्यको दोहोरो सुविधा लिएको होइन ।’

ज्योति भट्टले आफू नितान्त आफ्नो बुवा (गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट) लाई सहयोग गर्न भनेर आएको र केही समयमै छोड्न चाहेको भएपनि आफ्नी आमा विरामी रहेको र स्वयम प्रदेश प्रमुख समेत विरामी भएकाले हेरचाहमा बस्नु परेको बताए । ‘स्वकीयहरुका लागि स्पष्ट कार्यविधि छैन, कार्यालयमै बस्नुपर्छ भन्ने भन्दापनि प्रमुख ज्युलाई काममा सहयोग गर्ने विषय रह्यो । समयको बाउण्ड्रीपनि नभएकाले के आधारमा हाजिर गर्ने भनेर नगरको हो । यसै आधारमा हाजिर नभई भन्ने भयो भने, कानून अनुसार होला । तर मेरो नियत सफा छ । मैले कहिँ कतै प्रदेश प्रमुखको छोरा भएका नाताले गलत प्रयोग गरेको छैन’ उनले भने ।

भैसेपाटीको निवासको विषयमा भने अत्यन्त गैरजिम्मेवार र आफूले सोच्नै नसक्ने खालको आरोप खेपेको उनले बताए । ‘भाडामा मान्छे राखेर पैसा उठायो भन्ने जस्तो नित्कृष्ट आरोप लगाइयो । निवास खण्डहर जस्तो बन्ने देखेर परिवारकै तर्फबाट त्यसको हेरचाह गर्ने र व्यवस्थित गर्ने काम गरेको हो । कहीँकतै गलत काम गरेकै छैन’ उनले भने ।

यता उप स्वकीय सचिव कुमार तामाङले आफूले एउटा विद्यालयमा पढाउने गरेको भएपनि प्रदेश प्रमुखको निवासमा उपस्थित भएरै हाजिर गरेरै काम गरेको बताए । यो देशमा ठूलाबडाले जे गरेपनि हुने तर, आफूजस्तालाई निमोठ्ने काम हुनेगरेको उनको टिप्पणी छ ।

लोकतन्त्रलाई कम्जोर बनाउने र सुशासनको खिल्ली उडाउने काम : वरिष्ठ अधिवक्ता थापा मगर

बरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगरले नियम विपरित आफ्ना मानिसलाई जागिर खुवाउने काम सुशासन र लोकतान्त्रिक मूल्य मान्यता विपरितको काम भनेका छन् । उनले यस्तो कार्य स्वयम प्रदेश प्रमुखको नैतिकतासंग जोडिने विषय समेत रहेको उल्लेख गरे ।

पदमा रहेको व्यक्तिको नैतिकता र इमान्दारिता यसले झल्काने उनको भनाई छ । ‘यस्तै प्रवृत्तिले लोकतन्त्रको खिल्ली उडाउने र सुशासनलाई कम्जोर बनाउने हो’ उनले भने ।  नेताहरुको यस्तै खराब प्रवृत्तिले लोकतन्त्र विरोधीहरुलाई टाउको उठाउने ठाउँ दिएको उनको टिप्पणी छ ।

 

 

 

 

 

  • १५ चैत्र २०८१, शुक्रबार १३:२३ प्रकाशित