काठमाडौँमा एकसाथ दुई पक्षीय प्रदर्शन : ३५ सय प्रहरी परिचालन

केन्द्रभाग मिडिया

काठमाडौँ ।

आज काठमाडौँमा दुई पक्षीय प्रदर्शन हुने भएको छ । काठमाडौंको प्रदर्शनीमार्गमा गणतन्त्र पक्षधर समाजवादी मोर्चा र तीनकुनेमा व्यवस्था उल्टाउन लागि परेका पूर्वराजा समर्थकले प्रदर्शन गर्ने भएका छन् । समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा पूर्वराजका समर्थकहरूले तीनकुनेमा प्रदर्शन गर्दै छन् । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले प्रसाईँसँगै मिलेर प्रदर्शन गर्न लागेको सुरक्षा अधिकारीहरू बताउँछन् । सुवेदी नेतृत्वको समूहले प्रदर्शन स्थलबारे सार्वजनिक नगरेको हुनाले प्रसाईँसँगै मिसिएर शक्ति प्रदर्शन गर्न लागेको आकलन गरिएको छ ।

दुई पक्षधरले शक्ति प्रदर्शनको तयारी गरेपछि सम्भावित मुठभेड रोक्न उपत्यका प्रहरी कार्यालयले तीनकुने र प्रदर्शनीमार्गमा ठुलो संख्यामा प्रहरी परिचालन गर्ने योजना बनाएको छ । प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा ३५ सय प्रहरी खटाउने उपत्यका प्रहरी कार्यालयको योजना छ । सुरक्षा कमान्ड जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले गर्ने भएका छन् । प्रदर्शन स्थलमा एसपी अपिल बोहराले खटिनेछन् ।

  • १५ चैत्र २०८१, शुक्रबार १०:४८ प्रकाशित