नचाहिँदो विषयलाई लिएर सदन अवरुद्ध गरियो : प्रधानमन्त्री ओली

केन्द्रभाग मिडिया

प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरिएको टिप्पणी गरेका छन्। महिला उद्यमी महासङ्घको आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गैह्रविषयलाई विषय बनाएर एक निकायको कर्मचारी हेरफेरको सवालमा सदन अवरुद्ध गर्न नहुने बताएका हुन्।

विपक्षी दलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गरिरहँदा ओलीको यस्तो टिप्पणी आएको हो।

ओलीले यही चैत १८ गतेभित्र अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयक पारित गर्ने स्थितिमा त्यसलाई प्रभावित पार्न सदन अवरुद्ध गरिएकामा चिन्ता व्यक्त गरे।

‘वषौँसम्म त्यही निकायमा कामा गरेको मान्छेलाई जिम्मेवारी दिइँदा प्रशंसा गर्नुपर्ने त्यो नगरी प्रशंसा नगर्नुपर्नेलाई झुठा प्रशंसा गरिएको छ। गाली नगर्नुपर्नेलाई झुठा गाली गरिएको छ,’ ओलीे भने,’आन्दोलनका नाममा के(के हुँदैछ भनेर आतङ्क सृजना गर्न खोजिएको छ। चैत १५ गते काठमाडौँका दुई स्थानमा हुने जुलुस र सभा हुन्छ। सकिन्छ। हुने त्यत्ति हो। यसलाई तिललाई पहाड बनाउनुपर्ने केही छैन।’

  • १४ चैत्र २०८१, बिहीबार १५:११ प्रकाशित