आजदेखि पोखरा–छेन्दु व्यवसायिक चार्टर उडान, पर्यटन क्षेत्रमा उत्साह

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज देखि नियमित चार्टर उडान हुने भएको छ । आजदेखि पोखरा–छेन्दु रुटमा व्यावसायिक चार्टर उडान हुन लागेको हो । सिचुवान एयरलाइन्सले तीन महिनासम्म हप्तामा एकपटक नियमित उडान भर्ने गरी तयारी भएको पोखरा भ्रमण वर्ष २०२५ का कार्यसम्पादन समिति संयोजक गोपीबहादुर भट्टराईले जानकारी दिए ।

उनका अनुसार आज विहान १०ः१५ बजे चीनको छेन्दुबाट १३० जना पर्यटक लिएर सिचुवान एयरलाइन्स पोखरा विमानस्थल अवतरण गर्नेछ । आज नै मध्याहन्न १२ बजे १२७ जना नेपाली लिएर सो जहाज छेन्दुका लागि उडान भर्नेछ । दुई देशबिच पर्यटन प्रवर्द्धनका कार्यक्रम समेत भएकोले यसको नेतृत्व पोखरा महानगरका प्रमुख धनराज आचार्यले गर्नेछन् । ९ करोड जनसंख्या भएको छेङ्दु प्रान्तसंग पोखराको कनेक्सन जोडिदा पोखरा र नेपालकै पर्यटन क्षेत्रमा नयाँ उत्साह छाएको पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष समेत रहेका संयोजक भट्टराई बताउँछन् । हाललाई छेन्दुबाट पोखरा र पोखराबाट छेन्दुमा साप्ताहिकरुपमा उडान हुने र यसले आगामी तीन महिनासम्म निरन्तरता पाउने सुनिस्चित भइसकेको अवस्थामा त्यसपछि पनि नियमित उडान हुनेमा आफूहरु विस्वस्त रहेको उनले जानकारी दिए ।

पोखरा महानगरले सन् २०२५ लाई पोखरा भ्रमण वर्ष घोषणा गरेको छ । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको महत्वपूर्ण अवसर समेत पारेर सुरु हुन लागेको यो व्यवसायिक चार्टर उडानले पोखरा र यस क्षेत्रकै पर्यटन प्रर्बद्धनमा महत्वपूर्ण ढोका खोलेको पोखरा महानगरका प्रमुख धनराज आचायले बताए । ‘छेन्दु चीनको चौंथो ठुलो सहर हो । पर्यटनका हिसाबले अति नै महत्त्वपूर्ण छ,’ नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको र हामीले पोखरा भ्रमण वर्ष २०२५ घोषणा गरेको महत्वपूर्ण अवसरमा सुरु भएको यो नियमित उडानले पोखरा र यस क्षेत्रकै पर्यटन प्रवद्र्धन मात्र नभएर आर्थिक विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेका छौं’ उनले भने ।

होटल संघ नेपालका केन्द्रीय सदस्य समेत रहेका होटल संघ पोखराका पूर्वअध्यक्ष भरतराज पराजुलीले आज देखि सुरु हुने पोखरा छेन्दु उडान पोखरा विमानस्थलको पूर्ण क्षमताको उपयोगको सुरुवातको क्षेणको रुपमा लिनुपर्ने टिप्पणी गर्छन् । धेरै प्रयास पछि यो सफल प्राप्त भएको भन्दै पोखरा विमानस्थल निर्माणका लागि योगदान दिने सर्वसाधारण देखि सबैको सम्मानका लागि यो प्रयासले सार्थकता पाउने उनले विश्लेषण सुनाए । यो भ्रमणका क्रममा चीनका विभिन्न ५ सहरमा पोखरा र आसपासको पर्यटन प्रवर्द्धनका कार्यक्रम पनि गर्न लागिएको जानकारी दिँदै उनले चीनसँगै अन्य छिमेकी देशहरुबाट पनि नियमित उडानका लागि पहल भइरहेको बताए ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले यो फ्लाइटले पोखराको पर्यटनमा उत्साह थपिएको बताए । उनका अनुसार नेपाली प्रतिनिधिमण्डलको टोलीले छेन्दु, लुझोउ, इमी, लेसान, छोङसिङलगायत सहरमा हुने विभिन्न सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिमण्डलसँग व्यावसायिक भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछाने उडानले पोखरा र समग्र गण्डकी प्रदेशकै पर्यटनमा महत्त्वपूर्ण योगदान पुग्ने बताए । उनले केन्द्र, प्रदेश र पोखरा महानगरसहित निजी क्षेत्रले समेत महत्वपूर्ण सहकार्यले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा आगामी दिनमा अझै सम्भावनाको ढोका खोलेको उल्लेख गरे ।

  • ४ चैत्र २०८१, मंगलवार ०८:१८ प्रकाशित