पोखरा।
अन्नपूर्ण संरक्षित क्षेत्रमा नियमित उडान गर्न चाहने हेलिकप्टर कम्पनीले स्थानीय सरकारसँग उडान सूचीकरणपत्र लिनुपर्ने भएको छ ।यसरी सूचीकरण नभई यस क्षेत्रमा उडान गर्न चाहे प्रतिउडान दोब्बर शुल्क तिर्नुपर्ने गरी अन्नपूर्ण गाउँपालिकाले कार्यविधि संशोधन गरेको छ ।
गाउँपालिकाले अन्नपूर्ण आधार शिविरमा हेलिकप्टर उडान पर्यटन शुल्क व्यवस्थापन कार्यविधि २०७९ कार्यान्वयन गरिरहेको छ । जसमा हालै पहिलो संशोधन गरी सूचीकरण नगरी हेलिकप्टर उडाए दोब्बर शुल्क लिने नियम बनाइएको हो । सूचीकरण भएका हेलिकप्टरले हरेक उडान बापत १० हजार रुपैयाँ तिर्नुपर्छ ।
यसलाई संशोधनमा कायम राख्दै गाउँपालिकाले सूचीकरण नगरी उडाए दोब्बर अर्थात् प्रतिउडान २० हजार रुपैयाँ शुल्क लाग्ने बनाइएको हो ।हेलिकप्टर उडानबाट अन्नपूर्ण आधार शिविर भ्रमण गर्ने विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले तोकेको रुट परमिट लिएको हुनुपर्छ ।
रुट परमिट नलिएका विदेशी पर्यटकलाई उडानमा योग्य नमानिने कार्यविधिमा उल्लेख छ । संशोधन मार्फत सूचीकरण शुल्क ५ हजार रुपैयाँ तय गरिएको समेत राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।