आहा रारा पोखरा गोल्डकपमा ब्ल्याक बुल्स पहिलो सहभागितामै च्याम्पियन

केन्द्रभाग मिडिया

पोखरा ।
आहा रारा पोखरा गोल्डकपमा ब्ल्याक बुल्स पहिलो सहभागितामै च्याम्पियन बनेको छ । ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्सले २४औं आहारारा पोखरा गोल्डकपको उपाधि जितेको हो ।

शनिवार पोखरा रंगशालमा भएको खेलमा सफल टोली पुलिसलाई ३–१ ले हराएर उज्बेकी क्लब पहिलो सहभागितामै च्याम्पियन बनेको हो । ब्ल्याक बुल्सले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेको थियो ।

ब्ल्याक बुल्सका लागि कुभोनचबेक ओलिनोभले ४०औं, असिलबेक ओरिफजोनोभले ५८औं तथा साभकातजोन सात्तोरोधले ६६औं मिनेटमा गोल गरे । पुलिसका शिशिर चौधरीले ७४औं मिनेटमा गरेको गोल सान्त्वना बन्यो ।

यसअघि ब्ल्याक बुल्सले क्वाटरफाइनलमा भारतको थण्डरबोल्ट नर्थ युनाइटेडलाई ३–० र सेमिफाइनलमा५ पटकको विजेता थ्री स्टारलाई ४–० ले पराजित गरेको थियो । ब्ल्याक बुल्सले पहिलो सहभागितामै आहारार पोखरा गोल्डकपको उपाधि जित्दै इतिहास रचेको छ । कीर्तिमानी सातौं पटक च्याम्पियन बन्ने लक्ष्य राखेको पुलिस भने फाइनलमा उज्बेकी क्लबसामु फिक्का रह्यो ।

आहारारा पोखरा गोल्डकपको उपाधि जित्ने ब्ल्याक बुल्स दोस्रो विदेशी र समग्रमा नवौं क्लब बनेको छ । यसअघि २०६२ सालमा अफ्रिकन खेलाडीहरु समावेश गरेर बनाइएको अफ्रिकन युनाइटेडले उपाधि जितेको थियो ।

पुलिसले खेलको तेस्रो मिनेटमै गोल गर्ने राम्रो अवसर पाएको थियो । क्रसमा प्राप्त बलमा अरुण गाहाको हेडर पोष्टमा लागेर फर्किएपछि अग्रता लिन चुकेको थियो । विजेता ब्ल्याक बुल्सले १२ लाख १ हजारसहित आहाराराको आकर्षक ट्रफी प्राप्त ग¥यो भने उपविजेता पुलिसले ६ लाख १ हजारमा चित्त बुझायो ।

  • ३ फाल्गुन २०८१, शनिबार २०:४२ प्रकाशित